सोमवार, बैशाख २४, २०८१

बारा जिल्लामा माछापालन प्रति बढ्दै छ आकर्षण

fishबारा, १८ फागुन । भारतबाट करोडौंको माछा आयात भईरहेका समाचारहरुले प्रमुख प्राथमिकता पाईरहँदा मुलुकभित्रै उत्पादन भएको माछा भारत निर्यात भएको समाचारले भने कुनै पनि स्थान पाउन सकेको छैन । विगतमा भारतबाट आयात गरिएका माछा काठमाडौं, पोखरा, मलेखु, दोलालघाट पुग्ने गरेको भएपनि अहिले त्यो क्रमभंग भएको छ । मलेखुको माछा वा दोलालघाटमा माछा खान जाने माछा पारखीहरुका लागि बाराको माछाले नै उनीहरुको माग पूरा गरेको देखिन्छ । त्यत्तिमात्र होइन भारतका सिमानामा उत्पादन भएका कार्प जातका माछाहरु नेपालबाट भारत निर्यात पनि हुँदै गईरहेको छ ।
तथापी विगतमा भारतको माछाले बर्चश्व कायम गरेको भएपनि हालको अवस्थामा आईपुग्दा माछाको आयातामा भने धेरै कमी भईरहेको तथ्यांकहरुले देखाईरहेका छन् । नेपाली युवाहरुमा माछापालन तर्फको आकर्षणले गर्दा भारतबाट आयात हुने माछामा कमी भएको स्वीकार गर्न सकिन्छ । विगतमा कतिले शौखको रुपमा माछा पालन गर्दै आईरहेको भएपनि पछिल्ला समयमा भने व्यवसायिक रुपमा नै माछा पालन व्यवसाय फस्टाउँदै गईरहेको छ । व्यवसायिक रुपमा माछा पालनका लागि बारा जिल्ला माछा उत्पादनको हवका रुपमा विकसित हुँदै गईरहेको देखिन्छ । बारामा मात्र नभएर रौतहट, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही, बाँके, बर्दियामा पनि माछाको उत्पादन दिनप्रतिदिन बढ्दै गईरहेको छ । यी जिल्लाहरु मध्ये पनि बारा जिल्ला माछा उत्पादनका दृष्टिकोणले महत्वपूर्ण जिल्लाका रुपमा मानिन थालिएको छ । बारा जिल्लामा माछा उत्पादन मात्र नभएर माछाका भूरा उत्पादनसमेत सोही क्षेत्रमा हुनुले माछाका लागि महत्वपूर्ण जिल्लाका रुपमा बारालाई लिन सकिन्छ । हुन पनि कृषि विकास मन्त्रालयले आगामी बर्ष माछा उत्पादन बृद्धि गर्नका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरिरहेका बेला बाराका किसानहरु अन्य कृषि खेती छाडेर भएपनि माछा पालन तर्फ उत्साहित भएका देखिन्छ । जिल्ला कृषि विकास कार्यालय बाराका मत्स्य विकास अधिकृत मुन्निलाल अग्रहरीका अनुसार यस आर्थिक बर्षका लागि ५० हेक्टरमा माछा पालनका लागि सरकारले अनुदानको व्यवस्था गरेको भएपनि अनुदानका लागि ३०० हेक्टरमा माछा पालन गर्नका लागि निवेदन छ । यसले किसानहरु माछा पालनतिर बढी केन्द्रि भएको मान्न प्रष्ट देखिन्छ ।
त्यतिमात्र होइन बारा जिल्लामा युवा लक्षित कार्यक्रम अन्तर्गत ४ जनाले ५० हजारका दरले अुनदान पाउने भएको भएपनि १३ वटा युवा लक्षित कार्यक्रम अन्तर्गत माछा पालनका लागि आवेदन परेको देखिन्छ भने २४८ वटा पोखरी निर्माणका लागि कृषि विकास कार्यालय बारामा आवेदन परेको देखिन्छ । मत्स्य निर्देशक अग्रहरिका अनुसार हाल बारामा १५ सय हेक्टर जमीमा माछा पालन भईरहेको छ भने यो बर्ष माछा पालन गर्नका लागि खाडल खन्नेहरुको संख्या पनि प्रशस्त बढ्दैगईरहेको छ ।
माछा पालनका लागि प्राप्त अनुदानका लागि जिल्ला कृषि विकास कार्यालय बाराले पारदर्शितालाई कायम गर्नका लागि गत बर्ष अनुदान पाएका व्यक्ति मात्र नभएर सो व्यक्तिका एकाघरका परिवारलाई समेत यो बर्ष अनुदान नदिने नियम बनाएको अग्रहरी बताउँछन् । अनुदान धेरै किसानसम्म पुगोस् भन्ने सोचले एकाघरका परिवार तथा दुई प्रस्ताव आएको छ भने एउटालाई मात्र मापदण्ड पुगेकालाई दिने गरेको उनले बताए । अनुदान वितरण गर्नु अगाडि कार्यालयले घर घरमा गएर बुझने र फिल्ड निरिक्षण पश्चात मात्र अनुदान उपलब्ध गराउँदै आएको पनि उनले बताए । बारामा माछा उत्पादन गर्ने किसानहरुको संख्या बढ्दै गएका कारण जिल्लामा दुई मत्स्य विकास अधिकृतको आवश्यकता रहेको भएपनि एक जनाको मात्र दरवन्दी भएका कारण किसानहरुलाई सेवा पु¥याउन कठिन भएको बताए ।
जिल्लाको वरियापुर ७ महागढीमाई नपामा धानखेती छाडेर माछा पालन तर्फ लागेका श्याबाबु यादव भन्छन् धानबाट ज्याला नै उठ्न गाह्रो भएकाले आफ्नो ३ विगाहा जमीनमा आफूले माछा पालन शुरु गरेको बताउँछन् । माछा पालन गर्दा धेरै मेहनत पनि गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले आफू मात्र नभएर उनका दाजुका परिवार पनि माछा पालन गर्न थालेको बताउँछन् । बारा जिल्लामा बढ्दै गएको माछा पालन प्रतिको आकर्षणलाई अन्य जिल्लामा पनि विस्तार गर्न सक्ने हो भने माछाको आयात न्यूनिकरण होइन माछामा आत्मनिर्भर भई निर्यात गर्न समेत सक्ने देखिन्छ ।– कृषि संवाददाता

प्रकाशित मिति: सोमवार, फाल्गुन १८, २०७१