सोमवार, बैशाख २४, २०८१

असिना र लगातारको वर्षाका कारण तरकारी बाली र मुसुरोमा क्षति

गुलरिया (बर्दिया), १८ फागुन । असिना र लगातारको वर्षाका कारण बर्दियामा तरकारी र मुसुरो बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय बर्दियाले जनाएको छ । जिल्लाका विभिन्न क्षेत्रमा परेको असिनापानीका कारण खेतमा रहेको तरकारी र मुसुरोमा असर परेको हो । गोला, शिवपुर, सूर्यपटुवा, ठाकुरद्वारा, नेउलापुर गाविसलगायत गुलरिया नगरपालिका क्षेत्रमा परेको असिनाका कारण तरकारी र मुसुरोमा असर परेको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत विनोद ज्ञवालीले जानकारी दिनुभयो ।

अहिलेको वर्षाले गहँु र अडहरलाई रामै्र भए तापनि असिना परेका कारण तरकारी बाली र मुसुरोमा क्षति पुगेको छ । ज्ञवालीले किसानले क्षतिको विवरण पेस गरिरहेका कारण कति क्षति भयो भन्ने यकिन नभए पनि करिब तीन हजार हेक्टरमा लगाएको तरकारी बालीमा करिब आधा जति क्षति भएको हुन सक्ने बताउनुभयो ।

यसैगरी १८ हजार हेक्टरमा लगाइएको मुसुरो पनि क्षति भएको बताइएको छ । बर्दियाका किसानले अहिले १९ हजार ५०० हेक्टर जमिनमा गहँुखेती गरिरहेका छन् । अहिलेको वर्षाले गहुँ बालीलाई भने फाइदा भएको शिवपुर गाविसमा किसान उदय सुनारले बताउनुभयो । बर्दियाका किसानले खेती गर्दा बिमा गराउने गरेका कारण तरकारीखेती सँगसँगै अन्य नगदेबाली खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन १८, २०७१