सोमवार, बैशाख २४, २०८१

किन तोक्न सकिएन उखुको मुल्य ?

sugger acnकाठमाडौं, १७ फागुन । उखुको उत्पादन लागत बढेका कारण अघिल्लो बर्षभन्दा १५ प्रतिशत मूल्य बृद्धि गर्नका लागि लामो समयदेखि संघर्षरत किसानहरुको मागलाई सम्वोधन गर्ने भन्दै सरकारले उद्योग मन्त्रालयलाई उखुको समर्थन मूल्य तोक्न निर्देशन दिएको भएपनि यो समाचार तयार गर्दासम्म उखुको मूल्य तोकिएको छैन । उखुको मूल्य वृद्धि गर्नु पर्ने माग राखि उखु किसानहरु आन्दोलनरत छन् ।
किसानहरुको उत्पादन लागत बढिरहेको भएपनि चिनी उद्योगीहरुले प्रति क्वीन्टल ४ सय ७६ रुपैयाँ भन्दा बढी मूल्य दिन नसक्ने बताएपछि विगतमा किसान उद्योगी र उद्योग मन्त्रालयका प्रतिनिधि बीच भएको त्रिपक्षीय वार्ता असफल हुँदै आएको थियो । आफ्ना मागहरु सम्वोधन नभएको भन्दै विभिन्न जिल्लाहरुमा किसानहरुले सडकमा नै उखु जलाएका थिए भने फागुन १५ गते पूर्वपश्चिम राजमार्ग बन्द समेत गरेका थिए । किसानहरुले चिनीको मूल्य प्रतिक्विन्टल ५ सय २५ रुपैयाँ पाउनु पर्ने माग राख्दै आएका छन् । किसानहरुको लागत मूल्य तथा उद्योगीहरुलाई समेत मर्का नपर्ने गरी उखुको सन्तुलित मूल्य तोक्न सरकारले उद्योग मन्त्रालयलाई निर्देशन दिएको थियो । तर मन्त्रालयले हालसम्म पनि उखुको मूल्य
नतोकेपछि किसानहरु रुष्ट बनेका छन् । उद्योग मन्त्रालयका उच्च अधिकारीहरु भने उखुको सन्तुलित मूल्य तोक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको भएपनि मन्त्रालयमा पत्र नआईसकेको अझै केही दिन लाग्न सक्ने बताउँदै कहिलेसम्म उखुको मूल्य तोकिएला भन्ने विषयमा प्रष्ट पार्न चाहँदैनन् ।-शिव पाण्डे

प्रकाशित मिति: आइतवार, फाल्गुन १७, २०७१