बुधबार, बैशाख १२, २०८१

बागलुङ्गमा कृषिका पाँच आयोजना

बागलुङ, १५ फागुन । कृषिलाई व्यवसायी बनाउन जिल्लामा पाँच आयोजना सञ्चालित छन् । जिल्ला कृषि विकास कार्यालयको व्यावसायिक कृषि विकास कार्यक्रमअन्तर्गत ती आयोजना सञ्चालित भएका हुन् । ति आयोजनामा तरकारी, फलफूलजस्ता नगदेबाली समेटिएका छन् ।

जसमा व्यवसायिक सुन्तलाखेती विकास आयोजना, मौरी विकास आयोजना, व्यावसायिक तरकारीखेती आयोजना, तरकारी बीउ उत्पादन आयोजना र कफी विकास आयोजना रहेका छन् । व्यावसायिक सुन्तलाखेतीतर्फ यो वर्ष जिल्लाभर ४५ हेक्टरमा सुन्तलाखेती विस्तार हुने कृषि कार्यालयले जनाएको छ । मौरी विकास आयोजनालाई पनि पकेटका रूपमा अघि बढाइने भएको छ । यो वर्ष ४०० मौरीका घार कृषकलाई वितरण गरिनेछ । त्यस्तै ५५ हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारीखेती विस्तार गरिने जानकारी कार्यालयले दिएको हो । व्यवसायिक तरकारीखेतीतर्फ ३० हेक्टरमा हिउँदे, १५ हेक्टरमा बेमौसमी र १० हेक्टरमा बर्खे तरकारीखेती विस्तार गर्ने योजना कृषि कार्यालयको छ । जिल्लाको कुष्मीसेरा, दमेक, तारा, तङ्ग्राम र लेखानी गाविसमा तरकारी बीउ उत्पादन आयोजना सञ्चालनमा आएको छ ।
‘‘अहिले कुल १२ हेक्टरमा तरकारीको बीउ उत्पादन भइरहेको छ’’ अधिकृत अधिकारीले भन्नुभयो । जसमा ४० दिने मुला, रायो र केराउको बीउ उत्पादन गरिएको छ ।
त्यस्तै कफी विकास आयोजनाअन्तर्गत कुष्मीसेरा, नरेठाँटी, हटिया र बागलुङ नगरपालिकामा कफी विस्तार गर्न लागिएको छ । आयोजना चलाउँदा कृषकलाई आर्थिक सहयोग, अनुदान, तालिम र प्राविधिक सहयोग दिँदै आएको जिल्ला कृषि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन १५, २०७१