शुक्रबार, बैशाख १४, २०८१

उखु किसान भन्छन् : गाँजा रोप्छौं

ukhuu birodवीरगन्ज ,५ फागुन । : आइतबार वीरगन्जको घन्टाघर चोकमै किसानहरूले उखु जलाएका छन्। उखु जलाउँदै गरेका बिजबनियाका किसान महम्मद जियाउल हकले भने, ‘जे परेपर्ला, अब त गाजाँ नै रोप्छु।’
 उखु बेच्चे ठाउँ कहीं नपाएपछि आक्रोसित भएका हकले थपे, ‘सरकारले नै भनेर गाँजा खेती बन्द गरेर उखु खेती थालेका थियौं, अहिले आएर उखु बेच्ने ठाउँ नै छैन, सारा उखु खेतमै सुकेर सोत्तर भयो।’
 चिनी मिलले उखु खरिद नगरेपछि पर्साका किसानले त्यसको विरोधमा वीरगन्जको घन्टाघर चोकमा उखु जलाएर विरोध गरेका हुन्।
 उखु उत्पादक कृषक संघर्ष समिति पर्साको अगुवाइमा किसानले उखु जलाएर सांकेतिक विरोध गरेका हुन्। आफूहरूको पीडामा कसैले चासो नदिएका कारण बाध्य भएर उखु जलाउनुपरेको संघर्ष समितिका अध्यक्ष महमद सहरुम राउत गद्दीले बताए।
अघिल्ला वर्षमा पर्साका किसानले उत्पादन गरेको उखु बाराको मनहर्वामा रहेको रिलायन्स चिनी उद्योगले खरिद गर्दै आएको थियो। तर, यसपालि उसले क्रसिङ क्षमता कम भएको भन्दै पर्साको उखु खरिद गर्न बन्द गरेको छ।
 यहाँको उखु भारतीय चिनी मिलहरूले खरिद गर्न तयार भए पनि पर्साका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले सक्रियता नदेखाएको किसानको अरोप छ।
किसानको आग्रहलाई वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासले सकरात्मक रूपमा लिएर महावाणिज्य दूत अन्जु रञ्जनले नेपाली किसानको उखु बोकेका सवारीसाधनलाई भारतीय चिनी मिलसम्म लैजाने बेला अवरोध नगरिदिन भारतीय सुरक्षकर्मीलाई आग्रह गरिएको पत्र लेखिदिएकी थिइन्। उक्त पत्र जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराइसकेको थियो।
 पत्रको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय पर्साले उखु किसानलाइ बाँड्यो। पत्रका आधारमा उखु बोकेर भारतीय चिनी मिलतिर हिँडेका पर्साका किसानका ट्याक्टरहरू भारतीय सीमा सुरक्षा बल एसएसबीले सीमा क्षेत्रमै रोकिदिएको छ।
 भारतीय महावाणिज्य दूतावासको पत्र देखाउँदा एसएसबीका अधिकारीले पत्रको कुनै अर्थ नरहेको जबाफ दिएको संघर्ष समितिका अध्यक्ष गद्दीले बताए। एसएसबी अधिकारीको जवाफ उद्धृत गर्दे अध्यक्ष गद्दीले भने, ‘हामीलाई दिल्लीको आदेश छैन, उताबाट आदेश आएपछि मात्रै उखु लैजान दिन्छौं।’
 महावाणिज्यदूत रञ्जनले भने आफूले सक्दो पहल गरेको बताउँदै भनिन्, ‘किसानलाइ सहज होस् भनेर पत्र लेखिदिएकै हो, एसएसबीले नै मान्दैन भने मैले के गर्नु?’ भारतको नरकटियागन्ज, बेतिया, मझौलिया र रामनगरमा रहेका चिनी मिलहरूले उखु खरिद गर्ने भन्दै पर्साका किसानलाइ चलानपुर्जी पनि बाँडिसकेका छन्। संघर्ष समितिका अध्यक्ष गद्दीले भने, ‘चलान भएर के गर्नु? उखुजति बोर्डरमै अलपत्र छ।’
 भारतमा लैजान पाउने आशामा धमाधम काटिएको उखु खेतमा सुक्न थालेको मुडलीका किसान सुरेश चौरसियाले बताए। जिल्ला कृषि विकास कार्यालयका अनुसार पर्सामा यसपालि एक हजार चार सय ९० हेक्टरमा उखु खेती गरिएको छ।
 किसानका खेतमा ८० प्रतिशत उखु काट्न बाँकी छ। काटिएको उखु नबेचिएपछि उखु किसान पुन: पहिलाजस्तै गाँजा खेती नै ठीक भन्ने मनस्थितिमा पुगेको अध्यक्ष गद्दी बताउँछन्। – क्रान्ति शाह,
प्रकाशित मिति: मङ्लबार, फाल्गुन ५, २०७१