बुधबार, बैशाख १२, २०८१

पशुपतिनगर, ५ फागुन ।   इलाम सोयाक–४ का नरबहादुर सोङमीलाई यो वर्ष परिवारको खर्च कसरी टार्ने चिन्ता छ । रोग र किराले सुन्तला बगान सखाप भएपछि उहाँले यो वर्ष दुई लाख रुपैयाँ घाटा ब्यहोर्नु प¥यो ।
आम्दानीको अन्य दरिलो स्रोत नभएकाले उहाँलाई परिवारको खर्च जुटाउन धौंधौं छ । ‘पोहोरसम्म वर्षेनि डेढदेखि दुई लाख रुपैयाँको सुन्तला बेचिन्थ्यो, तर अहिले एक रुपैयाँको पनि भएन’–उहाँले भन्नुभयो–‘अब के को आम्दानीले घर खर्च टार्नु ?’ सुन्तलाको जरा कुहिने, टुप्पोबाट बोट सुक्दै जाने, फलमा किरा लाग्ने रोग र असिनाले सुन्तलाको उत्पादन ह्वात्तै घरेपछि धेरै किसानलाई अहिले घर खर्च टार्ने चिन्ताले सताइरहेको छ । सोङ्मी जस्तै इलामका अन्य किसानको पनि अवस्था उही छ । व्यावसायिक सुन्तला खेती गरेका सोयाकका दर्जनौं किसानको बारी बाँझै हुने अवस्थामा पुगेको त्यहाँका किसान हर्कबहादुर फागोले बताउनु भयो । ‘फल्ने बेला भएका बोटहरु मधाधम मर्दैछन्’–फागोले भन्नुभयोे–‘फल दिने बेला बोट मर्दा अहिलेसम्मको लगानी नै डुब्ने भो ।’
suntalaनहर बोट नै सुक्न थालेपछि खेती बढाएका किसान समस्यामा परेका छन् । ‘नहर बोट नै सुक्न थालेका छन्’–जिर्मले सलकपुरका किसान रोमश अधिकारी भन्नु हुन्छ–‘रोग देखिएको धेरै भएको छैन तर धेरैको बगान सिद्धिसक्यो, अब नयाँ विरुवा रोप्नु कि नरोप्ने चिन्ता छ ।’ रोगका कारण यो वर्ष १२ प्रतिशतले सुन्तला उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । पोहोर इलाममा तीन हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यो सिजनमा तीन हजार पाँच सय मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको कार्यालयका योजना अधिकृत प्रकाशमणि काफ्लेले जानकारी दिनुभयो ।
तीन वर्षअघि इलाममा चार हजार एक सय मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । ‘तीन वर्षयता वर्षेनि १० प्रतिशतभन्दा बढीका दरले उत्पादन घट्दै छ’–काफ्लेले भन्नुभयो–‘इलाममा मात्रै होइन सबैतिर सुन्तलाको उत्पादन घट्दै छ ।’
कृषि विकास कार्यालयले रोग निदानका लागि औषधिले समेत काम नगरेको किसानबाट गुनासो आएको जनाएको छ । कार्यालयले बारीमा नै गएर जाँच गर्दा पनि रोग पत्ता लगाउन नसकेको सोयाकका फागोले बताउनुभयो । सुन्तालको पकेट क्षेत्र मानिने सोयाक, जिर्मले, नामसालिङ, कन्याम, बरबोटे, पशुपतिनगर, गोदकलगायतका क्षेत्रमा समेत रोगका कारण सुन्तलाको उत्पादन धेरै घटेको छ । १२ सय मिटरदेखि १७ सय मिटर उचाईमा हुने सुन्तला इलाममा तीन सय २० हेक्टरमा लगाइएको छ । त्यसमध्ये तीन सय १० हेक्टरमा सुन्तला उत्पादन हुन्छ । १० हेक्टर क्षेत्रमा नयाँ विरुवा लगाइएको छ । उत्पादनको तुलनामा करीब ७५ प्रतिशत सुन्तला बाहिर निकासी हुन्छ । २५ प्रतिशत जिल्लामा नै खपत हुने गरेको छ । – राजु शिवा

प्रकाशित मिति: मङ्लबार, फाल्गुन ५, २०७१