शुक्रबार, बैशाख १४, २०८१

कालिमाटीको तरकारीमा भेटिन छाड्यो विषादी

काठमाडौं, ५ फागुन – देशको प्रमुख तरकारी बजार कालिमाटीमा विषादीरहित तरकारी आउन थालेको पाइएको छ । कालिमाटी तरकारी तथा फलफूल बजारमा बिक्री भइरहेका तरकारी नमुना परीक्षणबाट शतिप्रतिशत खानयोग्य रहेको पाइएको कृषि विकास मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयले जनाएको छ । निर्देशनालयले पुस महिनामा गरेको ११९ वटा नमुना परीक्षणमा विषादीको अवस्था ‘हरियो’ रहेको पाइएको हो ।
निर्देशनालयले असार महिनादेखि कालिमाटीमा तरकारीमा विषादीको परीक्षण थालेको थियो । सबैभन्दा बढी निषेध–दर भएको अवस्थालाई ‘रातो’, बीचको अवस्थालाई ‘पहेंलोे’ र सबैभन्दा कम निषेध–दर भएको अवस्थालाई ‘हरियो’ रङले संकेत गरिन्छ । असारमा १८७ नमुना परीक्षणमा १५५ हरियो (खानयोग्य), १२ पहेलो (३५ प्रतिशत विषादी) र २८ वटा रातो (३५ देखि ४५ प्रतिशत) विषादी रहेको पाइएको थियो । पहेंलो अवस्था भनेको उपचार गरी खान मिल्ने हो भने रातो स्वास्थ्यका लागि हानिकारक हुन्छ । हरियो अवस्था स्वास्थ्यको हिसाबले उपयुक्त तरकारी मानिन्छ ।
साउनमा १८७ परीक्षणमध्ये २ पहेंलो, २ रातो, भदौमा १७५ परीक्षणमा २ पहेंलो, असोजमा ११७ परीक्षणमा १ पहेंलो तथा १ रातो, कात्तिकमा १२९ मा शतप्रतिशत खानयोग्य थियो । मंसिरमा १३३ परीक्षणमा २ पहेंलो र १ रातो रहेको पाइएको निर्देशनालयको तथ्यांकमा छ ।
नमुना परीक्षणपछि विषादीको निषेधदर उच्च रहेका तरकारी नष्ट गर्न थालिएपछि कृषक, उपभोक्ता र व्यापारीसमेत त्रसित भई सुधार गर्न थालेको निर्देशनालयले जनाएको छ । विषादीयुक्त तरकारी बिक्री हुन छाडेर ठूलो रकम घाटा बेहोर्ने अवस्था देखेपछि कृषकले विषादी प्रयोग गर्न छाडेका छन् ।
“प्रयोगशाला नमुना परीक्षणबाट विषादी प्रयोगदर धेरैले घटेको प्रमाणित भएको छ,” निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले भन्छन्, “हालसम्मको अध्ययनका आधारमा कालिमाटीमा विषादीको निषेधदर निकै न्यून छ । अब कालिमाटीका तरकारी ढुक्कले उपभोग गरे हुन्छ ।”
तरकारीमा विषादीको दर उच्च रहेको गुनासोपछि निर्देशनालयले ‘द्रुत विषादी विश्लेषण प्रयोगशाला’ राखेर दैनिक विषादी प्ररीक्षण गरिरहेको छ ।
तरिका नपु¥याई जथाभावी प्रयोगले काठमाडौं उपत्यका भित्रने तरकारीमा विषादीको मात्रा उच्च देखिएको निर्देशनालयले जनाएको छ । “हामीले परीक्षण सुरु गर्दा कालिमाटीका व्यापारीले विषादी परीक्षण गर्न पनि दिँदैनथे, अहिले परीक्षण गरिदिनू भनेर व्यापारी आफैं आउँछन्,” निर्देशक शर्मा भन्छन्, “परीक्षणबाट विषादी नभएको प्रमाणित भएपछि व्यापारीले पनि ढुक्कले बेच्न पाएका छन्, कृषकले पनि विषादी जथाभावी प्रयोग गर्न छाडेका छन् ।” निर्देशनालयले उपत्यका आसपासका जिल्लामा पनि तरकारीको नमुना परीक्षण गरिरहेको छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन ५, २०७१