सोमवार, बैशाख २४, २०८१

व्यवसायिक तरकारी खेती गर्नतर्फ किसानको आकर्षण बढ्दै

लमजुङ, २६ माघ  । लमजुङमा व्यावसायिक तरकारी खेती गर्नतर्फ किसानको आकर्षण बढ्दै गएको छ । छोटो समयमा तत्काल प्रतिफल पाइने भएकाले तरकारीखेतीलाई व्यवसायीकरण गर्नेतर्फ किसानहरू आकर्षित भएका हुन् । सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत व्यावसायिक तरकारीखेती गर्ने कृषकको संख्या वृद्धि भएको छ । कृषि कार्यालयसँगै सरकारी तथा गैरसरकारी कार्यालयले आधुनिक प्रविधिका तालिम तथा उन्नत जातको बिउबिजनमा सहयोग गरेपछि व्यावसायिक तरकारीखेती गर्नेहरूको संख्या बढेको हो ।

जिल्ला कृषि विकास कार्यालय लमजुङका अनुसार लमजुङमा ९ सय हेक्टर क्षेत्रफल जमिनमा व्यावसायिक तरकारीखेती थप गरिएको छ । दुई वर्षअघि २ हजार ५ सय क्षेत्रफलमा जमिनमा व्यावसायिक तरकारीखेती गरिँदै आएको लमजुङमा अहिले ३ हजार ४ सय १८ हेक्टर क्षेत्रफल जमिनमा गरिएको छ । अहिले वार्षिक ३५ हजार ५ सय ४० मेट्रिक टन तरकारी जिल्लामै उत्पादन हुने गरेको कृषि कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीले बताए ।

पछिल्लो समय प्लास्टिकको टनेलभित्र गोलभेंडा खेती गर्नेको संख्या बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । व्यावसायिक तरकारीखेती गर्ने को संख्या बढ्न थालेपछि सदरमुकाम बेंसीसहरलगायत सहरका होटलमा जिल्लामै उत्पादित तरकारी तथा गोलभेंडाको प्रयोग बढेको छ ।

बेमौसमी तरकारीका लागि जिल्लामा ८ सय बढी टनेलमा तरकारी तथा गोलभेंडा खेती भइरहेको र तरकारीको बेर्नासमेत किसान आफैंले उमार्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ । उत्पादन भएको तरकारीलाई बजारीकरण गर्नका लागि जिल्लाका विभिन्न ठाउँमा तरकारी संकलन केन्द्रसमेत स्थापना गरिएको बागबानी विकास अधिकृत ज्ञानेन्द्रराज अधिकारीले बताए । गत वर्ष कृषि कार्यालयले युवालक्षित तरकारी खेती कार्यक्रमबाट १ सय १० जना युवालाई खेतीसम्बन्धी तालिम बीउबिजनमा सहयोग गरेको थियो । बेरोजगार युवालाई लक्ष्य गरी सञ्चालन गरिएको युवालक्षित कार्यक्रम निकै प्रभावकारी भएको जिल्ला दवाडीले बताए । उनले युवाहरूले आम्दानीको मुख्य स्रोत नै तरकारी खेतीलाई बनाई व्यावसायिक तरकारी खेती गर्न थालेको र जसले गर्दा लमजुङमा तरकारी उत्पादन राम्रो भएको बताए ।

कार्यालयले लमजुङलाई तरकारीमा निर्भर बनाउन किसान समूह गठन, व्यावसायिक खेती तालिम, अनुदानमा बिउवितरण, नर्सरी स्थापना, टनेल निर्माणका प्लास्टिकको सहयोगलगायतका कार्यक्रम गर्दै आएको छ । लमजुङमा गोलभेंडा, धनियाँ, मुला, काउली, बन्दा, सिमी, काँक्रो, घिरौंला, करेला, तने बोडी र भेडे खुर्सानी, रायो सागलगायतका तरकारी उत्पादन हुने गरेको छ । – आश गुरुङ

प्रकाशित मिति: सोमवार, माघ २६, २०७१