शुक्रबार, बैशाख २१, २०८१

राप्तीमा माछा मारेरै जीविकोपार्जन

प्यूठान, २५ माघ । दक्षिणी प्यूठानका विपन्न परिवार माछा मारेरै जीविकोपार्जन गर्दै आएका छन् । जिल्लाको बाङ्गेशाल गाविसमा रहेका विपन्न परिवारले राप्ती नदीमा माछा मारेर आफ्नो दैनिकी चलाउने गरेका हुन् ।

आफ्नो क्षमताअनुसारको काम नहुने र अन्य व्यवशाय गर्न आर्थीक अभाव भएकाले यहाँका स्थानीवासी माछा मारेरै जीविकोपार्जन गर्न बाध्य भएका हुन् । बाङ्गेशाल गाविस–२ का झन्डै एक दर्जन परिवार माछा मारेरै गुजारा चलाउँदै आएका छन् ।
“खेतमा उत्पादन भएको अन्नबालीले तीन महिनासम्म पनि खान पुग्दैन”, स्थानीवासी ५१ वर्षीय कालबहादुर केएमले बताए– “वर्षंैदेखि राप्ती नदीमा माछा मारेरै परिवार पाल्दै आएको छु ।” अर्को व्यवशाय नभएपछि उनले १५ वर्षदेखि माछा मारेरै परिवारका नौजनाको खर्च चलाउँदै आईरहेका छन् ।
राप्ती नदी किनारमा रहेको बाङ्गेशालका कुमाल, धामी र वादी परिवारका सदस्यले लामो समयदेखि राप्ती नदीमा माछा मारेर बेचेको पैसाले जीवन चलाउने गरेका छन् । “मलाई माछा मार्न बुबाले सिकाउनु भएको हो”, स्थानीय सोमबहादुर केएमले भने–“दैनिकी गुजारा चलाउन मार्ने गरेका छौँ ।” माछा मारेरै खाद्यान्न, लत्ताकपडा र परिवारको आर्थिक समस्या समाधान गर्ने गरेको भन्दै उनले पछिल्लो समय माछा पाउन छोड्दा आफूहरू आर्थिक समस्यामा पर्ने रेको दुखेसो समेत गरे ।

प्रकाशित मिति: आइतवार, माघ २५, २०७१