शुक्रबार, बैशाख २१, २०८१

४४ जना युवा किसानलाई अनुदान

सिन्धुपाल्चोक, २४ माघ । जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकले ४४ जना युवा किसानलाई अनुदान दिने भएको छ । युवा लक्षित कार्यक्रम अन्तर्गत कार्यालयले तरकारीमा २० जना, माछामा ४ जनार च्याउमा २० जना युवा किसानलाई अनुदान दिन लागेको हो ।

कार्यालयले तरकारी खेति गर्न युवाहरुका लागि प्रति व्यक्ति ४० हजार, माछा पालन गर्ने युवाहरुका लागि प्रति व्यक्ति ५० हजार र च्याउ खेति गर्ने युवाहरुको लागि प्रति व्यक्ति ४० हजारको दरले अनुदान दिने जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नवराज थापाले जानकारी दिए ।
कार्यालयका अनुसार तरकारी खेति गर्ने युवा किसानहरुले स्कीमको कूल लागतको ५० प्रतिशत आफुले लगानी गरी प्रति सिजन ५ रोपनी जग्गामा २ टनेल सहित थोपा सिँचाई गर्नु पर्ने छ । भने च्याउ खेति गर्ने किसानहरुले स्कीमको कूल लागतको १० प्रतिशत आफुले लगानी गरी एक पकेट क्षेत्रमा कम्तीमा ४ टनेलमा खेती गर्न क्लष्टरको रुपमा सञ्चालन गरिने, प्रति स्किम कम्तिमा ४ वटा १४×२२ वर्ग फीटका च्याउ घरमा खेती गर्नु पर्ने । त्यस्तै गरी माछा पालनमा भने नयाँ पोखरी र भुरा माछा खरिदका लागि कार्यालयले ५० हजार अनुदान दिने भएको छ ।
देशको कुल ग्राहस्थ्य उत्पादनको एक तिहाइ भन्दा बढी कृषि क्षेत्रबाट प्राप्त हुने र दुइ तिहाइ भन्दा बढी जनसंख्या रोजगारी तथा जिविकोपार्जनका लागि यस क्षेत्रमा निर्भर रहने भएकोले नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको महत्वपुर्ण भुमिका रहेको स्पष्ट छ । नेपालमा प्रत्येक वर्ष ४ लाख ५० हजार जति उत्पादनशिल युवाहरु वैदेशिक क्रम बजारमा प्रवेश हुने गरेका छन् ।

यसै सन्दर्भमा युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गरी कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने र कृषि क्षेत्रको व्यवसायीकरण वाट आय आर्जन वढाउने उद्देश्यले युवा लक्षित कृषि व्यवसाय संचालनार्थ प्रतिस्पर्धी रुपमा अनुदान प्रवाह गर्न नेपाल सरकारले गत आ.व. २०७०÷७१ देखि युवा लक्षित कार्यक्रम सञ्चालन गरेका हो । – तिलक पुरी

प्रकाशित मिति: शनिबार, माघ २४, २०७१