शुक्रबार, बैशाख २१, २०८१

युवा जनशक्तिको अभावले दूध उत्पादनमा कमी

milk

काठमाडौँ, २३ माघ । मागअनुसार उत्पादनमा वृद्धि नभएकाले दूधको परनिर्भरता बढ्ने निश्चित भएको छ ।
नेपाल डेरी एसोसिएसनले  आयोजना गरेको पत्रकारसम्मेलनमा युवा जनशक्तिको अभावले मागअनुसारको उत्पादन गर्न नसकिएको निचोड निकालिएको छ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालबाट वैदेशिक रोजगारमा जाने युवा जनशक्ति दैनिक एक हजार ५०८ जना रहेको उल्लेख छ ।
हालको नेपाली बजारमा दूधको माग दैनिक ९६ लाख लिटर छ । यद्यपि दैनिक ४८ लाख दूध उत्पादन हुने गरेको र मागलाई धान्न आयात गर्न नेपाल दुग्ध विकास संस्थान र नेपाल डेरी एसोसिएसन बाध्य भएको एसोसिएसनका अध्यक्ष सुमित केडियाले जानकारी दिए ।
नेपाली अर्थतन्त्रमा प्रमुख हिस्सा रहेको दूध र दुग्धजन्य पदार्थको कुल गार्हस्थ्य उत्पादनमा नौ प्रतिशत योगदान छ । नेपाली किसानले सहरबाट गाउँमा वार्षिक करिब १२ अर्ब नगद दूध र दुग्धजन्य पदार्थ बिक्रीबाट भित्र्याउँदै आएका छन् ।
बजारको प्रचुर सम्भावना रहेको दुग्धपदार्थ उत्पादनमा बढोत्तरी दिन सरकारले किसानलाई सर्वसुलभ ऋण, नश्ल तथा गोठ सुधार, गाईभैँसीको आयातमा सहजीकरण, घाँसका बीउबिजन निःशुल्क वितरणलगायत कार्यक्रमलाई प्रभावकारी बनाउन एसोसिएसनले सरकारसँग माग गरेको छ ।
सरकारले कृषि क्षेत्रमा विनियोजन गरेको कुल रु २३ अर्बको बजेटबाट ०.२५ प्रतिशत बजेट मात्र दूध उत्पादनमा विनियोजन गरेको छ । जुन बजेट पर्याप्त नभएको एसोसिएसनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा चार लाख ५० हजार व्यक्तिले रोजगार पाइरहेको दूध उत्पादन व्यवसायलाई व्यवसायीकरणमा रुपान्तरण गर्नु आजको आवश्यकता देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७१