आइतवार, बैशाख २३, २०८१

उन्नत जातका बाख्रा विकास गरिदै

काठमाडौ, १३ माघ ।  मध्य तथा सुदूरपश्चिम लगायत मुलुकका बिपन्न नागरिकको पोषणस्तर सुधार्न सरकारले उन्नत जातका बाख्राको विकासलाई तीब्रता दिने भएको छ ।
उन्नत जातका बाख्राको दूधबाट पोषण सुधार र आयस्तर बृद्धिका लागि प्रजनन समूह स्थापनागरी अगाडि बढ्ने सरकारको तयारी छ । अमेरिकाबाट झन्डै एक महिनाअघि ल्याइएका सानन् जातका ३० वटा बाख्रा र २० ओटा बोकाबाट देशभरका बिपन्न परिवारका लागि पुग्ने गरी उन्नत जातको बाख्रा विकास गर्नेगरी काम भइरहेको कृषि विकास मन्त्रालयका प्रवक्ता डा उदयचन्द्र ठाकुरले बताए ।

उनका अनुसार कृषि तथा खाद्य सुरक्षा योजना अन्तर्गत १ करोड रुपैँयाको लगानीमा अमेरिकाबाट ल्याइएका बाख्रा र बोका मध्ये सुरुमा डेलधुराका बिपन्न नागरिकलाई केही बोका हस्तान्तरण गरिनेछ । बाख्रा भने मकवानपुरको चित्लाङ र तनहुँको बन्दिपुरमा सरकारको निगरानीमा पालनपोषण भइरहेको छ । सानन् जातको बाख्राले एक बेतमा १६ सय लिटरसम्म दूध दिने गर्छ ।
कृत्रिम गर्भाधानमा प्रयोग गर्नका लागि ३ ओटा बोका भने राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरामा राखिने तयारी सरकारको छ । मध्य र उच्च पहाडी १९ जिल्लामा खाद्य सुरक्षा योजना लागु भए पनि सुरुमा १२ जिल्लाका बिपन्न नागरिकले सानन् जातका बोकाबाट फाइदा लिन सक्ने कृषि विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, माघ १३, २०७१