शनिबार, बैशाख २२, २०८१

भकारो सुधार कार्यक्रमबाट किसान खुसी

बागलुङ, १३ माघ । बागलुङ जिल्लामा सञ्चालित भकारो सुधार कार्यक्रमबाट किसानले लाभ उठाएका छन् । सरकारले अनुदान नै दिएपछि भकारो सुधार गर्न किसान आकर्षित भएका हुन् । भकारो सुधारबाट हुने दीर्घकालीन फाइदासँगै पूर्वाधार तयारीका लागि अनुदान मिलेपछि किसान खुसी छन् ।
लेखानीलाई त भकारो सुधारमा ‘नमुना’ गाविस बनाउन कृषि विकास कार्यालय तल्लिन छ । यो वर्षमात्रै ११० घरमा भकारो सुधार भइसकेको कार्यालयले जनाएको छ ।
दुईभन्दा बढी भैँसी पाल्नेलाई मात्र अनुदानको व्यवस्था छ । एक किसानले भकारो सुधार कार्यक्रमका लागि रु पाँच हजार २०० अनुदान प्राप्त गर्ने कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले बताए ।
चालु आर्थिक वर्षमा जिल्लामा २०० वटा भकारो सुधारको कार्यक्रम परेकामा ९० वटा अन्य गाविसमा सञ्चालन गरिने उनले बताए ।  ‘नमुना’ गाविसका रुपमा विकास गर्न लेखानीमा मात्रै एकैसाथ ११० वटा घरमा भकारो सुधार गरिएको हो । लेखानीका २०० किसानले गत वर्ष नै भकारो सुधार गरेका थिए । यसबाट वडा नं ७, ८ र ९ का किसानले बढी लाभ उठाएका छन् ।
सुधारिएको भकारो मलको खाद्यतत्व सुरक्षित राख्न, घामपानीबाट जोगाउन, मूत्र सङ्कलनका लागि उपयुक्त मानिन्छ । “गाईवस्तुको मूत्र बढी मलिलो हुन्छ, यसको सङ्कलन गर्न सकिन्छ” अधिकृत अधिकारीको तर्क छ “भकारो सुधारका धेरै फाइदा छन्, गाईवस्तुका लागि पनि सफा, न्यानो र सुरिक्षत हुन्छ, घामपानीबाट जोगिँदा मलको खाद्यतत्व पनि खेर जान पाउँदैन ।” थोरै मेहनत र सानो लगानीबाट भकारो व्यवस्थित र लाभदायी बनेपछि किसान यसतर्फ आकर्षित बनेको उनको भनाइ छ ।

प्रकाशित मिति: मङ्लबार, माघ १३, २०७१