बिहिबार, बैशाख २०, २०८१

लमजुङमा पनि चिया खेती

लमजुङ, १० माघ । पछिल्लो समयमा पूर्वि क्षेत्रमा मात्र होइन पश्चिम क्षेत्रमा पनि चिया खेती तर्फ किसानहरुको आकर्षण बढ्न थालेको छ । पश्चिम लमजुङको पसगाउँका बासिन्दा चियाखेतीमा आकर्षित भए पछि पश्चिमा पनि चिया खेती शुरु भएको छ ।
गाउँमा रहेको पाखोबारी तथा सामुदायिक वनमा परीक्षणको रूपमा लगाइएको चिया खेतीले राम्रो आम्दानी दिएपछि उनीहरू चियाखेतीमा आकर्षित भएका हुन् ।
पसगाउँवासीले २०६५ सालमा पहिलो पटक परीक्षणका लागि लमजुङकै भुजुङबाट केही चियाका बिरुवा लगेर सामूहिकरूपमा रोपेका थिए । पहिलो पटक लगाएको चियाखेती राम्रो भएपछि २०६६ सालबाट उनीहरूले सामूहिकरूपमा चियाखेती सुरु गरेका हुन् ।
पसगाउँमा गत वर्ष मात्र ५० हजार भन्दा बढी चियाका बिरुवा रोपिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको सहयोगमा स्थानीय बासिन्दा चियाखेतीमा लागि परेका हुन् । एक्याप अन्तर्गत गठित संरक्षण क्षेत्र व्यवस्थापन समिति पसगाउँका अध्यक्ष चन्द्रबहादुर गुरुङका अनुसार गाउँमा चियाखेती राम्रो हुन थालेपछि अन्य वडाका स्थानीय बासिन्दा चियाखेती तर्फ आकर्षित भएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७१