शुक्रबार, बैशाख ७, २०८१

किसानले फेर्ने भए गाउँको नाम

म्याग्दी १० माघ । विकासका लागि जनताले चाहे भने सकिन्छ परिवर्तन ल्याउन धेरै बेर लाग्दै भन्ने उदाहारण म्याग्दीको बरङ्जा गाविस–१ का बासिन्दाहरुले दिएका छन् । हरेक जिल्लाहरुले कुनै न कुनै रुपमा आफूलाई चिनाउँदै आईरहेका छन् । त्यसैले त सो गाविसका किसानहरु भने व्यावसायिक सुन्तलाखेतीमार्फत् गाउँको परिचय नै परिवर्तन गराउने अभियानमा लागेका छन् ।
अनुकूल वातावरण, भूगोल र बजार सुविधा भएपछि बरङ्जा गाविस–१ मा पर्ने भेँडाबारी र भोर्लेनीका बासिन्दा सुन्तलाखेती विस्तार गरी गाउँलाई सुन्तलाबारीका रूपमा चिनाउने अभियानमा लागेका हुन् । मकै, कोदो, गहुँलगायत अन्नबालीको विकल्पमा उनीहरूले धमाधम सुन्तलाखेती विस्तार गर्न थालेका छन् ।
भेँडाबारी अहिले सुन्तलाबारीमा परिणत भएको छ भने सोही वडाको भोर्लेनी गाउँमा पनि सुन्तलाखेती विस्तार हुने क्रम बढेको छ । भेँडाबारीका ओम गिरी, बेम गिरी र प्रेम गिरीले व्यावसायिकखेती गरेका छन् । भोर्लेनीका १७ घरधुरी बासिन्दा पनि सुन्तलाखेती विस्तारको अभियानमा लागेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७१