आइतवार, बैशाख १६, २०८१

मोरङ दूध उत्पादनमा आत्मनिर्भर

विराटनगर, ३० पुस । मुलुकलाई दूधमा आत्मनिर्भर बनाउन सके भारतबाट दैनिक रुपमा आयात हुने १ लाख लिटर दूधलाई आयात प्रतिष्थापन गर्न सकिने चर्चा चलिरहेका बेला मोरङ जिल्ला भने दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । पशुपालक किसानहरूले व्यावसायिक दृष्टिकोणले वर्णशङ्कर र उन्नत् जातका गाईभैंसी पालनतर्फ आकर्षित भएपछि दूध उत्पादनमा आत्मनिर्भर बनेको हो । यस जिल्लाका पशुपालक किसानले ८७ हजार ६३२ दुहुना गाई र २२ हजार ३२९ दुहुना भैंसी गरी एक लाख नौं हजार ९६१ गाई–भैंसीबाट वार्षिक रुपमा एक लाख २९ हजार ८३९ मेट्रिक टन दूध उत्पादन गरिरहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

यस जिल्लामा भैंसीको तुलनामा गाईपालनमा किसानले बढी जोड दिएका छन् । सो कारणले दुहुना गाईबाट बर्सेनि एक लाख एक हजार ६३९ टन र भैंसीबाट २८ हजार २०० टन दूध उत्पादन हुने गरेको हो ।
मोरङ्गका किसानले बढी लगानीमा वर्णशङ्कर र उन्नत् जातका गाई र भैंसीपालन गरेका छन् । स्थानीय जातको तुलनामा वर्णशङ्कर र उन्नत् जातका गाई र भैंसीले बढी दूध दिने गरेको छ ।
स्थानीय जातका गाईले औंसत एक दिनमा एक लिटर २५० मिलिग्राम, वर्णशङ्करले ६ लिटर ५०० मिलिग्राम र उन्नत् जातले औंसत ८ लिटर ५०० मिलिग्रामका दरले दूुध दिने गरेको सो कार्यालयले जनाएको छ ।
त्यसैगरी, स्थानीय भैंसीले दैनिक औंसत दुई लिटर ५०० ग्राम, वर्णशङ्करले ६ लिटर र उन्नत् जातका भैंसीले औंसत ८ लिटर दूध दिने गरेको छ । यस जिल्लामा ४२ हजार १७४ स्थानीय दुहुना गाईबाट बर्सेनि १० हजार ५४३ दशमलव ५ मेट्रिक टन दूध उत्पादन हुने गर्छ । सोहीअनुरुप, ३४ हजार तीनवटा वर्णशङ्कर दुहुना गाईले वार्षिक रुपमा ६१ हजार ८८५दशमलव ५ मेट्रिक टन र उन्नत् जातका ११ हजार ४५५ दुहुना गाईबाट बर्सेनि २९ हजार २१० मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०७१