आइतवार, बैशाख १६, २०८१

सामूहिक माछापालन सुरु

कञ्चनपुर २९ पुस । कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा रहेको लक्ष्मीपुरस्थित भैँसोरी गाउँको बन्दातालमा स्थानीय जनताले सामूहिक माछापालन गरी मनग्य आम्दानी लिइरहेका छन् ।

जिल्ला सदरमुकामदेखि झन्डै ५० किमि पूर्वी दक्षिणमा पर्ने साविक लक्ष्मीपुर गाविसमा रहेको तालमा बन्दाताल मत्स्यपालन समूहले माछा पाल्न सुरु गरी आयआर्जन गर्न थालेको हो । लक्ष्मीपुर गाविसको स्वामित्वमा रहेको २६ बिगाहा क्षेत्रफलमा फैलिएको उक्त ताल वार्षिक रु दुई लाखका दरले ठेक्कामा लिई समूहले माछापालन सुरु गरेको बेलौरी नगरपालिका संयुक्त वडा कार्यालयका सचिव धनिराम चौधरीले बताए ।

त्यत्तिकै खेर गइरहेको ताललाई ठेक्कामा लिई माछाका भुरा हालेर समूहगत रुपले माछापालन गर्दा दैनिक एक क्विन्टल माछा बिक्री गरी रु २० हजार कमाउने गरेको अध्यक्ष सोबरन रानाले बताए ।

गाउँका २० जना मिलेर समूह बनाई स्थानीयस्तरमा माछापालन गरिएको  छ । तालमा ग्रासकार्प, कमनकार्प, रहँु, सिल्भर, भाकुर, बिगहेड जातका उन्नत माछाको उत्पादन भइरहेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति: मङ्लबार, पुस २९, २०७१