शुक्रबार, बैशाख १४, २०८१

 कृषकले खोले कृषि सूचना केन्द्र

तनहुँ, २२ पुस । तरकारी खेतीको भण्डारका रुपमा ख्याति कमाएको तनहुँको आँबुखैरेनी–२ स्थित बरादीका कृषकले कृषि सूचना केन्द्र स्थापना गरेका छन् ।

उक्त क्षेत्रका कृषक आबद्ध भएको मिलिजुली कृषि उत्पादक सहकारी संस्थाले विद्युतीय कृषि सूचना केन्द्रको स्थापना गरेको हो ।
व्यावसायिक कृषि तथा व्यापार आयोजना तथा श्री कम्प्लेक्सको संयुक्त साझेदारी परियोजनाले जिल्लामा नै पहिलोपटक कृषि सूचना केन्द्रको स्थापना गरेको सहकारीका अध्यक्ष विष्णुबहादुर खनालले बताए ।
गत वर्षदेखि स्थापना गरिएको सूचना केन्द्रपश्चात् किसानलाई इन्टरनेटबाट अन्य स्थानको कृषि उपजको मूल्य तथा कृषिको नयाँ प्रविधिको जानकारी लिन सहज भएको जनाइएको छ ।
इन्टरनेटमा व्यापारीहरूले तरकारी मूल्य हेरेर तरकारी खरिद गर्न आउने गरेको सहकारी संस्थाले जनाएको छ ।
इन्टरनेटमा मूल्य र दैनिक उत्पादनको परिमाण राखेपछि धेरै व्यापारी आउन थालेको र तरकारी उत्पादनमा समेत वृद्धि भएकाले कृषक र व्यापारी कोही पनि ठगिनु नपरेको सहकारी संस्थाले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस २२, २०७१