शुक्रबार, बैशाख २१, २०८१

व्यावसायिक माछापालक कृषकको सङ्ख्या बढ्दो

नेपालगन्ज, १९ पुस । बाँके जिल्ला कृषि विकास कार्यालयले यहा ‘मिसन फिस अभियान’ कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक माछापालक कृषकको सङ्ख्या ह्वात्तै बढेको छ । विगत चार वर्षदेखि अभियान सञ्चालनमा ल्याइएपछि जिल्लामा अहिले ३०५ हेक्टर क्षेत्रफलमा एक हजार १५ जना कृषक माछापालन व्यवसायमा संलग्न हुनुलाई ठूलो उपलब्धिका रुपमा हेरिएको छ । करिब ५० हेक्टर क्षेत्रफलबाट सुरु भएको सो अभियान सञ्चालन भएपछि बर्सेनि माछापालन गर्ने कृषक र पोखरी सङ्ख्या बढ्दै गएको सो कार्यालयले जनाएको छ । यस जिल्लामा अहिलेसम्म एक हजार २५८ माछापोखरी निर्माण गरिएका छन् भने वार्षिक सरदर १६८ मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ ।
जिल्लामा वार्षिक ३० लाख माछाको भुरा आवश्यक भए पनि मागको २० प्रतिशतमात्र जिल्लामा भुरा उत्पादन भइरहेको र आवश्यक माछाका भुरा अन्य जिल्लाबाट आयात हुँदै आएको छ । यस जिल्लामा सिल्भर कार्प, बिड हेड कार्प, ग्राम कार्प, कपन कार्प, नैनीलगायत जातका माछापालन हुने गरेको छ ।

प्रकाशित मिति: शनिबार, पुस १९, २०७१