मङ्लबार, बैशाख २५, २०८१

कृत्रिम गर्भाधानले दूध उत्पादनमा वृद्धि

जनकपुरधाम, १७ पुस । दूध उत्पादन बृद्धि गर्नका लागि घाँस खेती गर्नु पर्ने र घाँस उपभोग गर्ने गाईबस्तुले दूध बढी दिने तर्क पशु विज्ञहरुले गरिरहेका छन् । तर पशुमा गरिने कृत्रिम गर्भाधानका कारण महोत्तरी जिल्लामा दुई प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको बताइएको छ ।

जिल्ला पशु सेवा कार्यालय महोत्तरीका अनुसार आर्थिक वर्ष २०७०÷०७१ मा १३ हजार ४२५ वटा गाईभैँसीमा कृत्रिम गर्भाधान गरिएको छ भने चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिभरि चार हजार ५२८ गाईभँैसीमा कृत्रिम गर्भाधान गरिएको छ ।
स्थानीय गाईभैँसीको नस्ल सुधार गरी दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले महोत्तरी जिल्लामा २०३९/०४० सालदेखि सुरु भएको यो सेवाबाट प्रतिवर्ष तीन हजार ३५ किसान परिवारले गाईभँैसीमा कृत्रिम गर्भाधान गरी लाभान्वित भइरहेको वरिष्ठ पशु विकास अधिकृत डा. रवीन्द्र ठाकुरले कृषिलाई बताए ।
अघिलो वर्ष १० हजार गाईभँैसीमा कृत्रिम गर्भाधान गरिने लक्ष्य रहेको थियो भने त्यसका लागि सरकारले एक लाख ५८ हजार बजेट विनियोजन गरेको थियो । त्यसैगरी चालु आर्थिक वर्षमा १२ हजार गाईभैँसीमा कृत्रिम गर्भाधान गर्ने लक्ष्य रहेको र त्यसका लागि सरकारले दुई लाख ५० हजार रकम विनियोजन गरेको छ ।

प्रकाशित मिति: बिहिबार, पुस १७, २०७१