शनिबार, बैशाख १५, २०८१

एउटै गाविसबाट रु एक करोडको सुन्तला

पाल्पा, १७ पुस । पाल्पा जिल्लाको छहरा गाविस–५ स्थित अम्लाबासका सुन्तला किसान लाखाँै आम्दानी गर्न सफल भएका छन् ।

पैँतीसदेखि ४० घरपरिवारले सुन्तलाबाट मात्र रु दुई लाखदेखि रु चार लाख आम्दानी गरेका छन् । सुन्तालाखेती राम्रो आम्दानीको स्रोत बनेपछि यहाँका किसानको प्रमुख व्यवसाय बनेको छ । छहरा गाविस–५ अम्लाबासबाट मात्र रु एक करोडबराबरकोे सुन्तला जिल्ला बाहिर निकासी हुँदै आएको किसान नित्यानन्द पोखरेल बताउँछन् ।
सुन्तलाखेतीको भण्डार भनेर परिचित पाल्पा अम्लाबासका किसानले सुन्तलाबाट रु दुई लाखसम्म गत वर्षमा आम्दानी गरेका थिए । यसवर्ष पनि सुन्तला राम्रो उत्पादन भएका कारण रु दुई लाखदेखि रु तीन लाख आम्दानी हुने बताइएको छ ।
सुन्तला प्रतिकिलो रु ६० देखि रु ८० सम्म बिक्री हुँदै आएको छ । चैत, वैशाख महिनासम्म सुन्तला राख्न सकेको अवस्थामा दोब्बर आम्दानी हुने पोखरेलको भनाई छ ।
गाउँमा फलेका सुन्तला रूपन्देही, नवलपरासी, कपिलवस्तु, नेपालगन्ज, काठमाडौँ लगायतका जिल्लामा पुग्ने गरेको किसानको भनाइ छ ।

प्रकाशित मिति: बिहिबार, पुस १७, २०७१