शुक्रबार, बैशाख २१, २०८१

धान दाइँ गर्न थ्रेसर मेसिनतर्फ आकर्षित

जनकपुरधाम, २४ मंसिर । गत वर्ष लामो समय लगाएर धान दाइँ गरेका बिन्धी– ३ बेलाका किसान मोहम्मद इसराइलले यस पटक एक बिगाहामा उत्पादन गरेको धान दुई दिनमै दाइँ गर्न भ्याएका छन् ।

आधार दर्जन गोरु लगाएर धान दाइँ गर्दा बढी खर्चिलो भएपछि धनुषा जिल्लाका किसान थ्रेसर मेसिन लगाएर धान दाइँ गर्नेतर्फ आकर्षित भएका छन् । कृषि क्षेत्रमा आधुनिकीकरणसँगै बाली भित्रिएर दाइँ गर्ने काममा मेसिनको प्रयोग बढ्न थालेपछि यसबाट किसानको समय र पैसासमेत बचत हुन थालको छ । अब थ्रेसरले नै धानको दाइँ गरिने देवहिडा– २ अकौराका किसान कारी मण्डल बताउँछन् ।
खेतबारीमै थ्रेसर मेसिन पुग्न थालेपछि किसान एकातिर हर्षित भएका छन् भने अर्कोतिर थ्रेसर व्यापारले ग्रामीण अर्थतन्त्रलाई सवल बनाएको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ ।
थ्रेसर मेसिन गाउँको कुनाकप्चामा पुगेपछि गोरु लगाएर दाइँ गर्ने परम्परागत प्रणाली लोप हँुदै गएको छ । गोरुले ३–४ घन्टामा सिध्याउने दाइँ थ्रेसरले छिटो सक्ने भएकाले यसतर्फ आकर्षण बढेको गुलाई दास बताउँछन् । थ्रेसरबाट धान बटुलेर घर ल्याउनुपर्ने झन्झटबाट मुक्ति पाई खेतमै दाइँ गर्न सजिलो भएको उनले बताए ।
थ्रेसर मेसिन राख्नेले किसानको खेतमै गएर थोरै धान लिएर दाइँ गर्ने गरेकाले यसबाट किसानको परिश्रमको बचत हुनुका साथै खर्चको समेत कम हुने गरेको किसानको भनाइ छ ।
एउटा थ्रेसर मेसिनको करिब अढाई लाख मूल्य पर्ने भएपछि धनुषा जिल्लामा व्यापक मात्रामा थ्रेसर भित्रिने गरेको छ । धनुषा जिल्लामा हाल करिब तीन हजार किसानसँग थ्रेसर मेसिन रहेको छ ।
“धान र गहुँको याममा करिब ५० देखि ६० वटा थ्रेसर मेसिन बिक्री हुन्छ”– जनकपुर उपमहानगरपालिका– ९ पिडारी चोकमा रहेको थ्रेसर बिक्रेता सुनिल साह भन्छन् । धनुषा जिल्लामा पाँच वर्षदेखि थ्रेसर मेसिनको बिक्री हँुदै आएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७१