शनिबार, बैशाख २२, २०८१

खाद्य संस्थान सुदृढीकरणका लागि जिम्मेवार हुनुपर्ने

काठमाडौँ, १७ मङ्सिर । धरासायी हुँदै गएको नेपाल खाद्य संस्थानको सुदृढीकरणका लागि व्यवस्थापनमा सुधार गर्नुपर्ने संस्थानको ४०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा जोड दिइएको छ ।
दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्ति गर्दै आएको संस्थानको कमजोर व्यवस्थापन सुधारका लागि कर्मचारीले संस्थानभित्रका राजनीतिक क्रियाकलापलाई थाँती राखी सुधारका कार्य गर्न र थप आयआर्जनका बाटो पहिल्याउन कार्यक्रमका अतिथि वक्ताले सुझाव दिएका थिए ।
वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले घाटामा गएका संस्थानलाई खारेज गर्ने वा अन्य संस्थानमा गाभ्ने कुरा सरकारको चाहनाभन्दा कर्मचारी मै भर पर्ने भएकाले यो संस्थान किन धरापमा प¥यो भन्ने कुरा समीक्षा गरेर आगामी क्रियाकलाप अघि बढाउनुपर्ने बताए ।
सञ्चालक समितिका पदाधिकारी र  व्यवस्थापकलाई संस्थान र कर्मचारीको हितमा काम गर्न सुझाव दिँदै उनले संस्थाको हितका लागि आएका प्रस्ताव कार्यान्वयन गर्न कुनैपनि कसर बाँकी नराख्ने उल्लेख गरे।  मन्त्री थापाले संस्थानलाई थप आयआर्जनका बाटो पहिल्याउन पनि सुझाव दिए।
वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीले संस्था राम्रो भए कर्मचारीलाई फाइदा पुग्ने भएकाले संस्था बलियो बनाउन कर्मचारीले एकजुट भएर सुधारका प्रयास अघि बढाए सरकारले सहयोग गर्ने बताए।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगोले दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्तिका लागि यस संस्थानले आफ्नो पहिचान बनाइसकेकाले आफ्नो पहिचान गुम्न नदिन र व्यवस्थापन पक्ष सबल बनाउन पनि सुझाव दिए ।
उक्त संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले अनावश्यक खर्च नियन्त्रण र उत्पादनमूलक काम गरेकाले संस्थानले यसवर्ष केही मुनाफा गर्न सक्षम भएको जानकारी दिँदै धान उत्पादन हुने क्षेत्रबाट धान खरिद गरी चामल बनाएर बेच्दा बढी नाफा आर्जन गर्न सकिने भएकाले यसतर्फ प्रयास अघि बढाइएको जानकारी दिए।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७१