बिहिबार, बैशाख १३, २०८१

दाङ्गमा केराखेती नै आम्दानीको स्रोत

तुलसीपुर, १७ मंसिर । केराखेतीमा विगतमा जुन रुपमा आकर्षण घट्दै गईरहेको थियो, त्यसले फेरि नयाँ रुप पाउन थालेको छ । आर्थिक उपार्जनका लागि विदेसिने युवाको सङ्ख्या दैनिकरुपमा वृद्धि भइरहेका बेला पश्चिम दाङको पुरन्धरा गाविस–८ सिमगौराका किसानले भने केराखेती गरेर राम्रो आम्दानी लिन सफल भएका छन् ।

banaanफ्नो देशमा पर्याप्त रोजगारीको अवसर नपाउँदा ठूलो सङ्ख्यामा नै युवा जमात दैनिकजसो बिदेसिने गरिरहेकामा यहाँका ती किसानले भने त्यसै खेर गएको बारी तथा पाखाको कान्लामा केराखेती गरेर आर्थिक आयआर्जन गर्न सक्षम भएका छन् ।
उनीहरूले केराखेती गरेर आफ्नो घरखर्च चलाउनमात्र नभई छोराछोरीलाई विद्यालयमा पठनपाठन गराउन पनि सफल भएका छन् ।
स्थानीय भीमबहादुर खड्काले विगत १० वर्षदेखि त्यसै खेर गएको बारीको कान्लामा केराखेती सुरु गरेको बताउँदै सुरुसुरुमा त त्यति धेरै आम्दानी लिन सकिन पछि विस्तारै खेती गर्दै जाँदा वार्षिक रु ५० हजारसम्मको बिक्री गर्न सकेको बताए ।
पहिलेपहिले त घरखर्च चलाउन र छोराछोरीलाई पढाउन समस्या हुने गरेको थियो अहिले सो खेतीकै आम्दानीबाट घर चलाउन छोराछोरी पढाउन सजिलो भएको छ उनले बताए ।
आफ्नो घरमा उत्पादन भएको केरा बेच्नमा समेत समस्या नरहेको भन्दै खड्काले बोटमा नै पाकेको केरा स्थानीय हापुरे बजारसम्म लगेर बेच्ने गर्दछु तर काँचो केरा लिन त गाडी लिएर घरमा नै व्यापारी आउने गरेको बताउँछन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७१