शुक्रबार, चैत्र १६, २०८०

मकैको चार नयाँ उन्नत जातको बीउ सार्वजनिक हँुदै

corn

बनेपा, १७ मंसिर । अन्तर्राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्रले चार नयाँ उन्नत जातको मकैको बीउ सार्वजनिक गर्ने तयारी गरेको छ ।
अनुसन्धान केन्द्रको कार्य अवधि समापन हुन लागको बेला ती जातका मकै कृषकका लागि उपयोगी हुने अपेक्षासहित सार्वजनिक हुन लागेको अन्तर्राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र नेपालका संयोजक निर्मल गदालले बताएका छन् ।
उनका अनुसार अरुण २, अरुण ४, अरुण ६ र पोषिलो मकै १ नामको मकैको उन्नत जातको बीउ सार्वजनिक हुन लागेको हो । यसअघि अनुसन्धान केन्द्रले सातवटा उन्नत जातका मकैको बीउ सार्वजनिक गरेको थियो ।
संयोजक गदालले परियोजना लागू भएको झन्डै १५ वर्षको अवधिमा ११ वटा उन्नत जातको मकै सार्वजनिक गरिएको उल्लेख गर्दै अनुसन्धान केन्द्रले मकैको बीउ प्रतिस्थापन गर्न झन्डै ७० प्रतिशत योगदान पु¥याएको बताए ।
उनले मकैको नयाँ जातको बीउ उत्पादनले कृषकले मनग्य आम्दानी गरेको उल्लेख गर्दै बीउ उत्पादनलाई निरन्तरता दिन करारमा निजी क्षेत्रलाई जिम्मेवारी दिइने समेत बताए । सो परियोजना लागू भएपछि मध्यपहाडी क्षेत्रमा २२३ कृषक समूहबाट वार्षिकरुपमा विभिन्न जातका एक हजार टन मकैको बीउ उत्पादन भएको छ । अनुसन्धान केन्द्रका अनुसार मध्यमहाडी क्षेत्रमा ५६ हजार ३८९ घरपरिवार मकैको बीउ उत्पादन कार्यमा संलग्न भएको र ११ हजार घरधुरीले मात्रै पोषिलो मकैको बीउ उत्पादनमा संलग्न भएको जनाइएको छ ।
क्षेत्रीय कृषि निर्देशनालय मध्यमाञ्चलका क्षेत्रीय निर्देशक टेकबहादुर बमले मकै बालीका लागि परियोजनाले उपलब्धिपूर्ण काम गरेको उल्लेख गर्दै मकैको बीउ उत्पादनलाई निरन्तरता दिने कुरा चुनौतीपूर्ण भएको बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७१