शनिबार, बैशाख २२, २०८१

  छ मेट्रिकटन मह उत्पादन

म्याग्दी, १६ मङ्सिर । पहाडी जिल्ला म्याग्दीमा वार्षिक छ मेट्रिक टन मह उत्पादन हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार, जिल्लामा सरदर पाँचदेखि छ मेट्रिक टन मह उत्पादन हुने गरेको हो । पहिलेदेखि नै मौरीपालनतर्फ कृषक लागिरहे पनि पछिल्लो समय मौरीका चरना क्षेत्र विस्तार भएको र मौरीलाई आवश्यक पर्ने चरन क्षेत्र पर्याप्त भएकाले मह उत्पादन बढ्दै गएको वरिष्ट कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले बताए । “यस जिल्लामा मौरीपालनको सम्भावना व्यापक रूपमा रहेको छ, उत्पादित महले सजिलै बजार पाउने र आम्दानी राम्रो हुने भएकाले कृषक पनि यसतर्फ आकर्षित भइरहेका छन,” अधिकृत श्रेष्ठले भने । जिल्लामा अहिले करिब चार हजार २०० घारमा मह उत्पादन हुने गरेको छ । त्यसमध्ये, ६० प्रतिशत पुराना घार र ४० प्रतिशतमात्रै आधुनिक घारमा मौरीपालन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । स्थानीय मह उत्पादन गर्दा बजार सजिलै पाउने भएकाले मौरीपालन व्यवसाय सञ्चालन गर्न सहज र आम्दानी राम्रो हुने गरेको बेनी नगरपालिका–१२ डडुवाका मौरीपालक कृषक मीनबहादुर खत्रीले बताए ।

अहिले जिल्लामा करिब २०० कृषक मौरीपालन व्यवसायमा आबद्ध छन् । मौरीपालनलाई व्यावसायिक बनाउन कार्यालयले पकेट क्षेत्र तोकेर मौरीपालनका लागि आवश्यक पर्ने घार र अन्य औजारलाई २५ देखि ५० प्रतिशतसम्मको अनुदानमा कृषकलाई उपलब्ध गराउँदै आएको अधिकृत श्रेष्ठले जानकारी दिए । जिल्लाको पुलाचौर, डडुवा, तोरीपानी, पात्लेखेत, ज्यामरुकोट, बरंजा, भकिम्ली, पिप्ले, मौवाफाँट, चिमखोला, बेगखोलालगायतका क्षेत्र मह उत्पादनमा पकेट मानिन्छन् । यहाँका कृषकले स्थानीय एपी सेरेना जातको मौरीपालन गर्दै आएका छन् ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १६, २०७१