शनिबार, जेष्ठ ५, २०८१

मुस्ताङी कोसेली फापरको पिठो

मुस्ताङ, १६ मङ्सिर । यहाँका किसानले उत्पादन गरेको फापरको पिठो लोकप्रिय बन्दै गएको छ । स्थानीय उत्पादनको स्वादमा रमाउनेले पिठोलाई विभिन्न परिकार बनाएर खाने हुँदा यसको माग उच्च बनेको हो । पर्यटकीय जिल्लाको रूपमा परिचित मुस्ताङ आउने अधिकांश आन्तरिक पर्यटकले फर्कदा पिठो कोसेलीको रूपमा लैजाने गरेका छन् । उपल्लो मुस्ताङका ६ गाविसमा तुलनात्मकरूपमा धेरै फापर उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । लोमान्थाङ, चराङ, सुर्खाङ, छोन्हुप र छोसेर गाविस फापर उत्पादनको दृष्टिले पकेट क्षेत्र मानिन्छ । किसानले त्यहाँ उत्पादन गरेको फापर सदरमुकाम जोमसोम र मार्फा गाविसमा ल्याएर बिक्री गर्छन् । मिलमा तयार पारिएको पिठो मार्फा गाविसमा सञ्चालित मार्फा कोसेली घरबाट बढी मात्रामा बिक्री हुने गरेको छ । प्रतिकेजी रु ३०० मा बिक्री गरिरहेको कोसेली घरका प्रबन्ध निर्देशक दीपक लालचनले बताउनुभयो । खास याममा १२ केजीसम्म पिठो बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । विदेशीभन्दा स्वदेशी पर्यटकले पिठो धेरै लैजाने गरेको बताइएको छ । मुस्ताङका पर्यटन व्यवसायीले फापरको ढिंडोलाई विशेष परिकारको रूपमा बिक्री गरिरहेका छन् । जौ, गहुँ र मकैभन्दा मुस्ताङका किसानले फापर खेतीलाई बढी जोड दिन थालेपछि त्यसले व्यावसायिक रूप लिँदै गएको किसानको भनाइ छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १६, २०७१