आइतवार, बैशाख २३, २०८१

गहुँखेती विस्तारका लागि किसानलाई ३५ प्रतिशत अनुदान

seed wheat
चितवन, ४ मङ्सिर । चितवनमा गहुँखेती गर्ने किसानलाई प्रोत्साहन गर्न विशेष छुटसहित २०० मेट्रिकटन अनुदानको बीउ वितरण गर्न थालिएको छ ।
अनुदानसहित गहुँको बीउ वितरण गर्ने प्रक्रिया सुरु भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
कृषि मन्त्रालयबाट राष्ट्रिय बीउबिजन कम्पनीमार्फत गहुँखेती गर्ने कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बीउको मूल्यमा ३५ प्रतिशत अनुदानमा उपलब्ध गराइने कार्यालयले जनाएको छ । उक्त कार्यक्रमअनुसार चितवन जिल्लालाई छुट्याइएको २०० मेट्रिकटन गहुँको बीउ सर्वसुलभ रुपमा बिक्री वितरण गर्न गराउन सात अधिकृत बिक्रेतसमेत तोकिएको कार्यालयले जनाएको छ ।
राष्ट्रिय बीउविजन कम्पनीले बीउको मूल्य रु ६२ प्रतिकेजी कायम गरेको र उक्त मुल्यमा ३५ प्रतिशत अनुदान दिने कृषि विकास मन्त्रालयका निर्णयअनुसार राष्ट्रिय बीउविजन कम्पनी मूल्य रु ४० कायम गरिएको छ । उक्त मूल्यमा ढुवानीसमेत जोडेर राजमार्ग क्षेत्रमा प्रतिकेजी रु ४२ भित्रै क्षेत्रमा रु ४३ सम्म बिक्रीका लागि तोकिएको छ ।
गहुँ उत्पादन गर्ने मुख्य क्षेत्र पूर्वी चितवनका कुमरोज, कठार, भण्डारा, पिप्ले, चैनपुर, बछौली, रत्ननगर शक्तिखोरलगायत क्षेत्रमा १०० मेट्रिकटन र पश्चिम चितवनअन्तर्गत पार्वतिपुर, पटिहानी, गीतानगर, शिवनगर, फूलबारीलगायतका लागि ८० मेट्रिकटन तथा माडी क्षेत्रका चारवटै गाविसका लागि २० मेट्रिकटन उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर ४, २०७१