बिहिबार, बैशाख १३, २०८१

व्यावसायिक खेतीका लागि साढे चार सय युवाको आवेदन

भीमदत्तनगर, ५ मङ्सिर । बैतडीमा सञ्चालन हुने युवा लक्षित कार्यक्रमका लागि झन्डै साढे ४०० आवेदन परेका छन् ।

जिल्ला कृषि विकास कार्यालयले आर्थिक वर्ष २०७१÷७२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार बैतडीमा सञ्चालन गर्ने युवा लक्षित व्यावसायिक तरकारीखेती, च्याउखेती तथा माहुरीपालन कार्यक्रमका लागि ४४५ आवेदन परेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कर्णबहादुर चन्दले जानकारी दिएका छन् ।
तरकारीखेतीका लागि २८८ जनाले आवेदन दिएका छन् । माहुरीपालन व्यवसायका लागि ८९ तथा च्याउखेतीका लागि ६९ आवेदन परेको उनंले बताए ।
प्राप्त आवेदनका आधारमा युवा कृषक छनोट गर्ने काम भइरहेको छ । तरकारीखेतीमा आवेदन परेका २८८ मध्ये ६० जना छनोट गरिने छ, भने च्याउखेती र माहुरीपालनका व्यवसायका लागि अहिने नै टुङ्गो लागि नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यक्रम सञ्चालन हुने क्षेत्रको भौगोलिक बनावट, हावापानी, सिँचाइ सुविधा, यातायातको सुविधा तरकारी तथा च्याउखेतीका लागि जमिन आफ्नै वा भाडामा लिएर गर्न सक्नेलगायतका मापदण्ड पूरा भएकालाई प्राथमिकता दिइने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७१