शुक्रबार, बैशाख १४, २०८१

जैविक खेती गर्न किसानलाई विज्ञको सुझाव

लुम्बिनी , ४ मङ्सिर । विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने हुनाले जैविक तरकारीखेती गर्न विज्ञहरूले किसानलाई सुझाव दिएका छन् । उनीहरूले मात्रा नमिलाउने र विषादीको जथाभावी प्रयोगले समस्या दिनानुदिन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै जैविक खेती गर्न किसानलाई सुझाव दिएका हुन् ।
सामर्थ परियोजना तथा आइडिई नामक गैरसरकारी संस्थाको सहयोगमा तराई विकास मञ्चको सहायोगमा रुपन्देही जिल्लामा सञ्चालन गरिएको किसानका लागि बीउबिजन तथा बजारीकरणसम्बन्धी कार्यक्रममा बोल्दै विज्ञहरूले सो सुझाव दिएका हुन् ।
सो अवसरमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख कृष्णभद्र अधिकारीले किसानले दर्ता नभएका र सिफारिस नगरिएका बीउबिजन खरिद गर्ने र लगाउने गर्दा कतिपय अवस्थामा उत्पादन नै नहुने समस्या आएको बताए । उनले जुन ठाउँका लागि सिफारिस गरिएको हो त्यही ठाउँमा मात्र लगेर लगाउन किसानलाई आग्रह समेत गरे ।

 

प्रकाशित मिति: बिहिबार, मंसिर ४, २०७१