सोमवार, बैशाख २४, २०८१

बर्दियामा धानको मूल्य निर्धारण

asdबर्दिया, १ मङ्सिर । नेपाल खाद्य संस्थानले कृषकबाट खरिद गर्ने प्रयोजनका लागि यस वर्षको धान खरिद मूल्य निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको अध्यक्षतामा बसेको स्थानीय प्राथमिक खरिद समितिको बैठकले उक्त मूल्य निर्धारण गरेको हो ।
समितिले गरेको निर्णयअनुसार मोटो धान प्रतिक्विन्टल रु दुई हजार, मकवानपुर रु दुई हजार २००, मध्यम धान रु दुई हजार २५० र मसिनो धान रु दुई हजार ३०० निर्धारण गरिएको नेपाल खाद्य संस्थान राजापुरका मिल प्रमुख भोजराज पाण्डेले बताए ।
गत वर्ष मोटो धान प्रतिक्विन्टल रु एक हजार ७७५, मकवानपुर रु एक हजार ९००, मध्यम रु एक हजार ९२५ र मसिनो धान रु एक हजार ९५० निर्धारण गरेको थियो ।
नेपाल खाद्य संस्थानले देशका विभिन्न स्थानबाट यस वर्ष कुल तीन लाख क्विन्टल धान खरिद गर्ने भएको छ । त्यसमध्ये संस्थानको आधुनिक चामल कारखाना राजापुरबाट मात्रै ७२ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएको छ । गत वर्ष ३० हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखे पनि २९ हजार क्विन्टल मात्र खरिद गरेको मिल प्रमुख पाण्डेले बताएका हुन् ।
अत्यधिक धान उत्पादन हुने यस क्षेत्रमा संस्थानले अन्य तीनवटा स्थानमा धान खरिद डिपो स्थापना गरी खरिद गर्ने भएको छ । राजापुर क्षेत्रका सबै गाविसलाई समेट्ने गरी आधुनिक चामल कारखाना राजापुरका साथै मानपुरटपरा, शान्तिबजार र मनाउको प्रसेनी बजारबाट धान खरिद गर्ने तयारी गरिरहेको खाद्य संस्थान राजापुरले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, मंसिर १, २०७१