बुधबार, बैशाख १२, २०८१

महाकाली चिनी एद्योगद्धारा उखुको मूल्य निर्धारण

कञ्चनपुर, २ मङ्सिर । यस जिल्लाको दक्षिणी भेग बेलौरीमा रहेको एक चिनी उत्पादन गर्ने उद्योगले उखुको मूल्य तोकेको छ ।

बेलौरी नगरपालिका–१३ शिवनगरको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले उखुको मूल्य तोकेको हो । उखु किसानको सहजताका लागि सुगर इन्डस्ट्रिज प्रालिले प्रतिक्विन्टल रु ३८५ निर्धारण गरेको उद्योगले जनाएको छ ।
उद्योगको थप क्षमता विस्तारसँगै उखुको मूल्य निर्धारण गरेको प्रालिका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले बताए । उखुको मूल्य निर्धारण गरेपछि किसान भने खासै सन्तुष्ट छैनन् । उखु कृषक राम धामीले प्रति क्विन्टल न्यूनतम रु ४५० देखि ५०० हुनुपर्ने धारणा राखेका छन् ।
उखुखेती गर्दा मल, बीउ, सिँचाइ, मजदुरलगायतको मूल्य बढेकाले उत्पादन लागत बढेको भन्दै मूल्य पनि बढ्नुपर्ने उनको भनाइ छ ।
विगतमा उद्योगले दैनिक १० हजार क्विन्टल उखु खरिद गर्ने मिलले दैनिक १३ हजार क्विन्टल उखु खरिद गर्ने छ । क्षमता विस्तारसँगै किसानले उखु कटानी गरी बिक्री गर्ने पर्ची पाउनका लागि भने सहजता आउने प्रालिका प्रशासन प्रमुख ठगुन्नाको भनाइ छ ।
उद्योग सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रका करिब ६०० जनाले प्रत्यक्षरुपमा रोजगारीसमेत पाएको महाकालीका ठगुन्नाले जनाए।
महाकाली सुगर इन्डस्ट्रिज प्रालिले गरेको सर्वेक्षणअनुसार जिल्लाको दक्षिणी भेगमा मात्रै करिब साढे सात हजार बिघामा उखुखेती गरिन्छ । उद्योग सञ्चालनमा आए पछि कञ्चनपुरलगायत कैलालीबाट समेत उखु आउने गरेको छ । विगतमा दक्षिणी क्षेत्रमा चिनी मिलको अभावमा यहाँका किसान उखु बिक्रीका लागि भारतीय बजार धाउनुपर्ने बाध्यतासमेत रहेको थियो । स्थानीयस्तरमै उद्योग सञ्चालनमा आएपछि उखु कृषकलाई सहज भएको छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २, २०७१