शनिबार, बैशाख २२, २०८१

धान उत्पादन बैतडीमा बढ्ने दार्चुलामा घट्ने

भीमदत्तनगर, १५ कार्तिक । यस वर्ष सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा धान उत्पादनमा वृद्धि हुने कृषि कार्यालयले जनाएको छ ।

riceसमयमै वर्षा भएको र उन्नत जातको बीउ रोपिएकाले धान र मकै उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो । कृषि विकास कार्यालयले दिएको जानकारीअनुसार यस वर्ष जिल्लामा १५ प्रतिशतले उत्पादनमा वृद्धि हुनेछ ।
गत वर्ष नौ हजार हेक्टर जग्गामा लगाइएको धानखेतीबाट १८ हजार ३६० मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष बैतडीमा अनुमानित १५ प्रतिशतले बढी धान उत्पादन हुने अनुमान गरिएको कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताएका छन् । कार्यालयका अनुसार उन्नत जातको बीउ, मौसमको अनुकूलता, सिँचाइको सुविधालगायतका कारण उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
यता, कञ्चनपुरमा भने धानबाली भित्र्याउने बेला आएको वर्षाका कारण धान उत्पादनमा कमी आउने कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ । बाली भित्र्याउने बेला परेको वर्षाका कारण जिल्लामा १५ देखि २० प्रतिशतसम्म धान उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताए ।
यस्तै दार्चुलामा भने कृषि कार्यालयले कृषकले उत्पादन गरेको विभिन्न अन्नबाली तथा तरकारीको बीउ खरिद गर्ने जनाएको छ । उत्पादन बढाउन तथा घरायसी खाद्य उत्पादन बढाई खाद्य समस्यालाई कम गर्न जिल्लाका कृषकले उत्पादन गरेको गुणस्तरीय बीउलाई आगामी वर्षदेखि खरिद गर्ने तयारी सुरु गरिएको कृषि प्रसार अधिकृत इन्द्रसिंह ठगुन्नाले जानकारी दिए ।
जिल्ला कृषि विकास कार्यालयका विभिन्न सेवा केन्द्रहरू मार्फत हिउँदे अन्नबाली तथा तरकारी बालीको बीउ वितरण भइरहेको तथा आगामी वर्ष कृषकले उत्पादन गरेको तीे अन्नबालीको बीउ खरिद गर्ने योजना रहेको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक १५, २०७१