सोमवार, बैशाख २४, २०८१

कुरिलोखेतीबाट राम्रो आम्दानी गदै रुकुमका किसान

kuriloरुकुम, १५ कार्तिक । अन्य खेतीभन्दा राम्रो आम्दानी हुन थालेपछि रुकुम गरायलका किसान कुरिलोखेतीतर्फ आकर्षित भएका छन् ।
जङ्गलमा खेर गइरहेको कुरिलो सङ्कलन गरी गरायला–१ भलाचौरका कृषकले आफ्नो बारीमा लगाएर आम्दानी लिन सुरु गरेका हुन् ।
गरायला– १ भलाचौरका लालबहादुर ओली, बालाराम पुन र तिलक ओलीले आफ्नो राम्रो उत्पादन हुने खेतबारी मै कुरिलोखेती गरी आम्दानी लिन सुरु गरेका छन् ।
बालाराम पुनले भने तरकारी लगाउने बारीमा समेत कुरिलो लगाएका छन् । जिल्लामै यसको माग बढेको र ग्राहक घरदैलोमै पुग्ने भएकै कारण आफूहरू कुरिलोखेतीतर्फ लागेको उनीहरूले बताएका छन् ।
अन्न बालीभन्दा यस जडीबुटी खेतीले राम्रो आम्दानी हुने भएपछि यस क्षेत्रका बासिन्दा कुरिलोखेती गर्न तम्सिएका छन् । उनीहरूको यो कुरिलोखेतीबाट प्रभावित भएर अन्य गाउँघरका किसान पनि जङ्गलमा खेर गइरहेको कुरिलो सङ्कलन गरी कुरिलाका बोट लगाउन थालेका छन् । तिलक ओलीले तीन मुरी मकै फल्ने जग्गामा कुरिलोका बोटहरू लगाएका छन् ।
घरेलु औषधि तथा विदेश निर्यात हुने यस कुरिलोखेतीबाट गरायलाका कृषकले वार्षिक रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्ने गर्दछन् । ज्वरो, सुख्खा खोकी, घाँटीको खराबी, मुटु रोग, अमलपित्त, कमलपित्त, स्मरण शक्तिको कमजोरी जस्ता रोगको घरेलु उपचारमा यसको प्रयोग हुने भएकै कारण सर्वसाधारण यस खेतीतर्फ आकर्षित भएको हुन् ।

प्रकाशित मिति: शनिबार, कार्तिक १५, २०७१