शनिबार, बैशाख २२, २०८१

केरा उत्पादनबाट राम्रो आम्दानी

banaanगाईघाट , १५ कात्तिक । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको तपेस्वरी, हँडिया तथा जोगिदह गाविसका व्यावसायिक केरा उत्पादक कृषकले यसपटक केरा उत्पादनबाट राम्रो आम्दानी गरेका छन् ।

स्थानीय तहमा उत्पादन गरेको केरा दसैँ, तिहार तथा छठ जस्ता चाडपर्वमा बिक्री गरेर राम्रो आम्दानी गरेको केरा उत्पादन कृषक बताउँछन् ।
प्रत्येक वर्ष केरा उत्पादन गरेर बिक्री गर्दै आएका तपेस्वरी–३ का केरा उत्पादक कृषकले यसपटकको दसैँ, तिहार तथा छठ पर्वको समयमा सोचेभन्दा पनि राम्रो आम्दानी गरेका स्थानीय कृषक रामप्रसाद भट्टराई बताएका छन् । भट्टराई अनुसार “यसपटक सोचेभन्दा राम्रो केरा बिक्री भयो, दसैँ, तिहार र छठ पर्वको समयसम्ममा मैले रु एक लाख बराबरको केरा बिक्री गरिसकेको छु ।”
यता, व्यावसायिक रूपमा केराखेती गर्दै आएका हँडिया–२ का मुनेस्वर चौधरी पनि यसपटक राम्रो केरा बिक्री भएको कुरा बताउँछन् ।
दसैँ, तिहर र छठ पर्वमा मात्र रु ७० हजार बराबरको केरा बिक्री गरेको चौधरीको भनाइ छ । अन्य समयमा पनि केराको व्यापार राम्रो हुने गरेको भएपनि चाडका बेला केरा बढी मात्रामा बिक्री हुने जोगिदह–५ का केरा उत्पादक कृषक कुमार खत्री भनाई छ । केरा उत्पादनबाट राम्रो आर्थिक आम्दानी हुन थालेपछि अहिले यस क्षेत्रका कृषक व्यावसायिक रूपमा नै केराखेतीप्रति आकर्षित हुन थालेका छन् ।

प्रकाशित मिति: शनिबार, कार्तिक १५, २०७१