शनिबार, बैशाख २२, २०८१

वर्षाले धानबालीमा क्षति पुग्यो

पर्वत, १४ कात्तिक । केही दिनदेखि निरन्तर वर्षा भएका कारण पर्वत जिल्लामा धानबालीमा क्षति पुगेको छ । वर्षाका कारण काटेको धानबालीमा १० प्रतिशतभन्दा बढी क्षति पुगेको छ ।

पर्वतमा धान काट्ने मुख्य समयमा लगातार वर्षा भएका कारण पाकेको धानबालीमा बढी क्षति पुगेको हो ।
जिल्ला कृषि विकास कार्यालय पर्वतले दिएको जानकारीअनुसार काटेर खेतमा सुकाएको धानबालीमा सबैभन्दा बढी क्षति पुगेको छ । अझै केही दिन लगातार वर्षा भएमा पर्वतको धेरै क्षेत्रमा धानबालीमा क्षति पुग्ने अनुमान गरिएको छ । “अहिलेसम्म १० प्रतिशतमा क्षति पुगेको छ”, वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए, “अझै केही दिन वर्षा भएमा पाकेको धानबालीमा धेरै ठूलो क्षति पुग्नेछ ।”
पर्वत जिल्लामा धान थन्क्याउने सबैभन्दा व्यस्त समयमा वर्षा भएका कारण पाकेको धानबाली खेतमै छ भने काटेर सुकाएको धान कुहिएको छ । पर्वतमा कात्तिक नलाग्दै पाँच प्रतिशत धानबाली थन्काइसकिन्छ भने मङ्सिरमा पनि बढीमा १५ प्रतिशत धानबाली थन्काउने गरिन्छ ।
बाँकी सबै धानबाली कात्तिकको पहिलो हप्तादेखि अन्तिम हप्तासम्ममा थन्काउने गरिन्छ । केही दिनयता परेको असिनाले पनि पर्वतको भूक, फलेवासलगायतका क्षेत्रमा क्षति पुगेको छ । केही दिनअघि मात्रै पर्वतको उत्तरी भुकताङ्ले गाविसको मोहरिया, ताङले लगायतका स्थानमा वर्षासँगै परेको असिनाले झन्डै ३०० रोपनी खेतमा लगाइएको धानमा क्षति पु¥याएको थियो ।

“असिनाले धान खेतमा बिस्कुन सुकाएजस्तै बनाइदियो” त्यहाँका कृषक भीमबहादुर मल्लले भन्नुभयो, “भुकताङ्ले गाविसको वडा नं १ को केही भाग र २ र ३ वडाका कृषकको धानखेती बढी प्रभावित बनाएको छ ।”

गत वर्ष पनि पर्वतमा पाँच प्रतिशतले धान उत्पादन बढेको थियो । पर्वतमा आठ हजार ८३० हेक्टरमा बर्र्खे धानखेती गरिँदै आएको छ भने ७६५ हेक्टरमा हिउँदे धानखेती गरिँदै आएको छ । जिल्लामा कुल नौ हजार ५५५ हेक्टरमा धानखेती हुँदै आएको छ । पर्वत जिल्लाको धान उत्पादन २ दशमलब ४१ टन प्रतिहेक्टर रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक १४, २०७१