शनिबार, बैशाख २२, २०८१

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण गरिने

ललितपुर, ११ कात्तिक । उत्कृष्ट व्यावसायिक कृषकलाई सरकारले आगामी आर्थिक वर्षबाट ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ वितरण गर्ने भएको छ । व्यावसायिक कृषकले सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा गर्ने कृषकलाई सरकारले यस्तो व्यवस्था गर्न लागेको जिल्ला कृषि विकास कार्यालय ललितपुरका सूचना अधिकृत हरि पण्डितले बताउनुभयो । उहाँका अनुसार पुरस्कार पाउनका लागि सरकारले तोकेको न्यूनतम मापदण्डमा अन्नबालीका लागि तराईमा १५ कट्ठा र पहाडमा १० रोपनी जग्गामा व्यावसायिक खेती गरेको हुनुपर्छ । त्यस्तै तरकारी, पुष्प, मसला बालीका लागि तराईमा पाँच कट्ठा र पहाडमा दुई रोपनी, मौरीपालनका लागि ५० घार गोला, घाँसखेतीका लागि तराईमा १० कट्ठा र पहाडमा पाँच रोपनी, हाँस पाल्नका लागि दुई हजारवटा, लिची ७५ बोट, अम्बा, सुन्तला, जुनार, अनारलगायतका फलफूलका लागि ५० बोट रहेको छ ।
यी मापदण्ड पूरा गर्ने कृषकले सम्बन्धित जिल्ला कृषि विकास कार्यालयमा आफ्नो व्यवसायको विवरणसहित निवेदन पेस गर्नुपर्ने प्रावधान रहेको छ । ललितपुर जिल्लामा यस पुरस्कार प्राप्त गर्नका लागि निवेदन प्राप्त हुन थालिसकेको अधिकृत पण्डितले जानकारी दिनुभयो । पुरस्कार प्राप्त गर्नका लागि प्रत्येक ७५ वटा जिल्लाबाट उत्कृष्ट तीनजना कृषकलाई आफ्नो विकास क्षेत्रमा पठाउँछन् र प्रत्येक विकास क्षेत्रबाट ५÷५ जना छनोट गरी राष्ट्रिय स्तरमा पठाइन्छ र जम्मा २५ जनामध्येबाट पाँचजना छनोट गरी पाँचजनालाई पुरस्कृत गरिन्छ । देशबाट छनोट गरिने पाँचजनामध्ये एकजनालाई सर्वोत्कृष्ट र चारजनालाई उत्कृष्ट पुरस्कार वितरण गर्ने प्रावधान रहेको बताइएको छ । देशबाट छनोट हुने सर्वोत्कृष्ट कृषकलाई रु दुई लाख र चारजना उत्कृष्ट कृषकलाई रु एक लाखको दरले पुरस्कार वितरण गरिने छ । कृषकलाई दिइने पुरस्कार राष्ट्रपतिको हातबाट वितरण गरिने र आउँदो आर्थिक वर्षमा यो पुरस्कार वितरण गरिनेछ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक ११, २०७१