शुक्रबार, बैशाख २१, २०८१

वार्षिक तीन हजार २०० मेट्रिक टन खाद्यान्न अभाव

गोकुलेश्वर (दार्चुला), ५ कात्तिक । दार्चुलामा वार्षिक तीन हजार २०० मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ । कृषिबाट विस्थापित हुनु, सिँचाइ सुविधा नहुनु, उन्नत जातको बीउको प्रयोग नगर्नु, आधुनिक खेती प्रणालीको विकास नहँनुजस्ता विविध समस्याका कारण दार्चुलामा बर्सेनि खाद्य उत्पादनमा ह्रास आउन थालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यसका साथै बढ्दो जनसङ्ख्यासँगै खेतीयोग्य जमिन साँघुरिने क्रम पनि बढेकाले कृषि उत्पादनमा कमी आउँदा खाद्यान्नको हिसाबले यो जिल्ला असुरक्षित बन्दै गएको हो ।
पछिल्लो समय सरकारले आधुनिक कृषिमा युवालाई आकर्षित गर्न अनुदानको समेत व्यवस्था गरेपनि अनुदान कार्यक्रम लक्षित कृषकसम्म पुग्न नसकेको सरोकारवालाको भनाइ छ । कृषि विकास कार्यालयका अनुसार जिल्लाको दुहँु तथा मार्मा क्षेत्रमा रहेका गाविस खाद्य सङ्कटको उच्च जोखिममा रहेका छन् । बर्सेनि जिल्लामा खाद्यान्न उत्पादन घट्दै जाँदा यसले भविष्यमा ठूलो सङ्कट निम्त्याउने भएकाले आधुनिक कृषिमा मानिसहरूलाई आकर्षित गर्ने खालका कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन गर्नु आवश्यक देखिएको छ । -कृसा

प्रकाशित मिति: बुधबार, कार्तिक ५, २०७१