शुक्रबार, बैशाख २१, २०८१

गाई र आलुको कार्यक्रमको कार्यालयमा छापा

ललितपुर, ५ कात्तिक । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज खुमलटारस्थित राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको कार्यालय र राष्ट्रिय आलु अनुसन्धान कार्यक्रमको कार्यालयमा छापा मारेर घुस लिँदै गरेका लेखा अधिकृतद्वय श्रीराम श्रेष्ठ र प्रकाश श्रेष्ठलाई पक्राउ गरेको छ ।

उनीहरूबाट दुई लाख पाँच हजार नगद बरामद गरिएको अनुसन्धानमा खटिएका अधिकृत शेरबहादुर बस्नेतले बताउनुभयो । घुस मागे भनी सेवाग्राहीले दिएको सूचनाका आधारमा अख्तियारले छापा मारेको अनुसन्धान अधिकृत बस्नेतले जानकारी दिनुभयो ।
सेवाग्राहीबाट नगद लिएर राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका लेखा अधिकृत श्रीरामले राष्ट्रिय आलु अनुसन्धान कार्यक्रमका लेखाअधिकृत प्रकाशलाई राख्न दिएको अवस्थामा उनीहरू पक्राउ गरेका हुन् । दुवै लेखा अधिकृतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
आफूलाई फसाउने नियतले सेवाग्राही देशबन्धु थापाले सो रकम दिएको लेखा अधिकृत श्रीरामले बताए । थापा चितवन रामपुर १० का ठेकेदार भएको उनको भनाइ छ । अर्का लेखाअधिकृत प्रकाशले आफूलाई नगद राख्न आफ्ना मित्र श्रेष्ठले दिएकामा आफ्नो केही दोष नभएको बताए ।

प्रकाशित मिति: बुधबार, कार्तिक ५, २०७१