शुक्रबार, बैशाख १४, २०८१

आइपिएमको उत्पादनले विषादी प्रयोगमा कमी

बनेपा,१ कार्तिक। कृषकले एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) प्रविधिमा तरकारीखेती गर्न थालेपछि झन्डै ७० प्रतिशत विषादी र रासायनिक मलको प्रयोगमा कमी आएको छ ।

कृषकले अनावश्यक रूपमा अत्यधिक रासायनिक मल र विषादीको प्रयोग गरिरहेको अवस्थामा कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रम र लबग्रीन नेपालले सञ्चालन गरेको आइपिएम पाठशाला कार्यक्रमबाट तरकारीखेतीमा जैविक विषादी र जैविक मलको बढी प्रयोग भएको लबग्रीन नेपालका कार्यकारी निर्देशक गोरेकाजी संगतले जानकारी दिनुभयो ।
हामीले आइपिएम खेतीलाई अझ बढी विस्तार गर्न सक्ने हो भने विषादी न्यूनीकरण बढ्दै जान्छ उहाँले भन्नुभयो ।
उहाँले यसबाट दिगो कृषि प्रणाली र वातावरण संरक्षणमा समेत सहयोग पुगेकोे छ भन्नुभयो ।
काभ्रेपलाञ्चोकको देवीटार र काभ्रे गाविसमा आइपिएम प्रविधिबाट तरकारी खेती भएको र आउँदो वर्षबाट यसलाई अझै विस्तार गरिने निर्देशक संगतले जानकारी दिँदै दुई गाविसमा कुल ३०८ कृषक आइपिएम खेतीमा संलग्न भएको बताउनुभयो ।
ती गाविसबाट आइपिएम प्रविधिमा आधारित काउली, गोलभँेडा, आलु, खुर्सानी, तीतेकरेला, मुलालगायतका कृषि उपज उत्पादन भएका छन् ।
आर्थिक वर्ष ०७०÷०७१ मा काभ्रे गाविसमा कुल ६० टन र देवीटार गाविसमा कुल २०६ टन तरकारी उत्पादन भएको लबग्रीन नेपालले जनाएको छ ।
काभ्रे गाविस वडा नं १ का कृषक रामचन्द्र पौडेलले आइपिएम प्रविधिमा आधारित उत्पादनमा चमक नभएकाले उपभोक्ताको आकर्षण भने बढी नभएको बताउनुभयो ।
जिल्लामा झन्डै एक दर्जन आएपिएम पाठशाला कार्यक्रम सञ्चालन गरेर तरकारीको उत्पादन भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक १, २०७१