बिहिबार, बैशाख १३, २०८१

जाजरकोटको आलु नेपालगन्ज र सुर्खेतमा बिक्री

जाजरकोट, ३१ असोज । जाजरकोटको ढिमे गाविस वडा नं १ पाँचकाटिया, दम्दालामा उत्पादित आलुले अहिले जाजरकोट सदरमुकामसँगै सुर्खेत र नेपालगन्जमा समेत बजार लिएको छ ।

यहाँका करिब २५० भन्दा बढी घरधुरी मकैखेती छाडेर आलुखेतीतर्फ लागेको ढिमेका पूर्व गाविस अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिनुभयो ।
मकैखेतीभन्दा आलुखेतीबाट आम्दानी बढी हुने भएपछि यहाँका कृषक आलुखेतीतर्फ आकर्षित भएका हुन् । सामान्य आलु उत्पादन हुने स्थानीयको घरमा पनि १०० क्विन्टल जति उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । आलु बिक्री गरेरै यहाँका किसानले आफ्ना दैनिक समस्या टार्नुका साथै छोराछोरीलाई उच्च शिक्षा पढाउने गरेको बताएका छन् । यहाँ उत्पादन गरिएको आलु जाजरकोट सदरमुकाम, रुकुमको चौरजहारी, सल्यानको सल्लीबजार, सुर्खेत र नेपालगन्जसम्म पुग्ने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
यातायातको सुविधा भएका कारण यहाँ उत्पादित आलु देशका विभिन्न ठाउँमा लान सहज भएको कार्यालयको भनाइ छ ।
यो ठाउँमा वर्षायाममा आलु र हिउँद याममा सुन्तला बढी उत्पादन हुने गरेको छ । सिँचाइको राम्रो सुविधा भएका कारण यहाँका किसान व्यावसायिक आलुखेतीतर्फ लागेका हुन् ।
माओवादीको सशस्त्र द्वन्द्वका बेला पहिलो निसानामा परेको पाँचकाटिया अहिले आलु उत्पादनले चर्चामा रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज ३१, २०७१