आइतवार, बैशाख १६, २०८१

कृषि उत्पादनमा जनशक्ति अभाव

103

काठमाडौं, २६ असोज । यतिखेर धेरै जिल्लाहरुमा धान भित्र्याउने चटारो देखिएको छ । असोज कार्तिक महिनामा करीव–करीव धान भित्र्याएर गहु“बालीका लागि खेत तयार गर्न किसानहरु हतारिएका पनि छन् । तर धान भित्र्याउनका लागि किसानहरुको खेतमा जनशक्तिको अत्यन्तै अभाव देखिन थालेको छ । कृषि यान्त्रिकरणका कुरा जति नै गरेपनि कृषि क्षेत्रमा यान्त्रिकरणको प्रयोग हुन नसक्दा कृषि उत्पादनमा कमी आउने मात्र होइन, उत्पादन लागत समेत बढ्ने गरेको छ । सरकारले कृषिका लागि योग्य जनशक्ति तयार गर्न नसकेको मात्र होइन भएका जनशक्तिहरुलाई पनि प्रयोगमा ल्याउन नसकेका कारण यतिखेर कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव देखिएको हो ।
धान भित्र्याउने बेलामा विगतमा जति धेरै युवाशक्तिहरु देखिन्थे ती देखिन छाडेका छन् । तराई होस् या पहाड जुनसुकै क्षेत्रमा पनि खाद्यवाली उत्पादनका लागि आवश्यक पर्ने जनशक्ति दिन प्रतिदिन अभाव हुन थालेको छ । बेरोजगारीका कारण वैदेशिक रोजगारीमा जाने युवाशक्ति दिनप्रतिदिन बढ्न थालेपछि कृषिका लागि आवश्यक जनशक्ति खड्किएको सत्य लुक्न सकेको छैन । सरकारले युवा लक्षित कृषि कार्यक्रम ल्याएको भएपनि ती कार्यक्रमले युवाहरुलाई आकर्षण गर्न सकेको छैन । युवा लक्षित कृषि कार्यक्रमहरुले किन युवाहरुलाई आकर्षण गर्न सकेन भन्ने कुरा अव अनुसन्धानको विषय बन्नु पर्दछ । विदेशबाट फर्केकाहरुले कृषिमा लगानी गर्न उत्प्रेरित भईरहेका बेला विदेश पलायन हुनेहरुलाई कृषि उत्पादनमा कसरी संलग्न गराउन सकिन्छ भन्ने तर्फ खासै ध्यान दिएको पाईदैन ।
जसरी विदेशबाट फर्केकाहरुले कृषि उत्पादन गरुन् भन्ने उदेश्यले सहयोग गरेको पाईन्छ । त्यसैगरी वेरोजगारीबाट भौतारिएका युवा जनशक्तिहरुलाई आवश्यक सरकारले विनो धितो ऋण उपलब्ध गराउने, मल बीउ लगायत आवश्यक स्रोत साधनहरुमा अनुदानको व्यवस्था वा शुन्य ब्याजदरमा ऋण प्रवाह गर्न सक्ने हो भने पक्कै पनि कृषिमा युवाहरुको आकर्षण बढ्ने मात्र होइन जसका कारण पलायन हु“दै गईरहेका जनशक्तिलाई कृषिमा भरपूर उपयोग गर्न सकिने सम्भावना देखिन्छ ।
धान काट्नका लागि मात्र होइन अन्य कृषि बाली तथा व्यवसायिक कृषिका लागि पनि जनशक्ति घट्दै जानु भनेको मुलुकको घात हो भन्न सकिन्छ । मुलुकले कृषि उत्पादनका लागि युवा जनशक्तिको खँ“चो महशुस गरिरहेका बेला सम्बन्धित निकायहरुले पनि केही चासो दिने हो भने समस्याको समाधान हुन्थ्यो कि ?

प्रकाशित मिति: आइतवार, अशोज २६, २०७१