बिहिबार, चैत्र १५, २०८०

वैदेशिक रोजगारी भन्दा तरकारीखेती राम्रो

म्याग्दी, २५ असोज । म्याग्दीको बेनी नगरपालिका–१ लामागराका युवा कृषक दल गिरी वैदेशिक रोजगारी छाडेर सुरु गरेको व्यावसायिक तरकारीखेतीबाट रहरलाग्दो आम्दानी गर्न सफल हुनुभएको छ ।

रोजगारीको सिलसिलामा साउदी, मलेसियालगायतका मुलुकमा सात वर्षभन्दा बढी समय गुजारेका गिरीले परम्परागत तरकारीखेतीलाई व्यावसायिक बनाएसँगै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको हो ।
करिब पाँच रोपनी जग्गामा दुई वर्षदेखि व्यावसायिक तरकारीखेती गर्नुभएका गिरीले एक मौसममा रु चार लाखसम्म आम्दानी भएको बताउनुभयो ।
“तीनवटा टनेलमा गोलभेँडा लगाएका छाँै, साग, बन्दा, काउली र ब्रोकाउलीसमेत राम्रो भएको छ”, उहाँकी श्रीमती सरस्वतीले भन्नुभयो, खेतबारीमा लगाएको तरकारीले परिवारका सदस्यलाई घरमै रोजगारीसँगै आम्दानी हुने भएपछि आफूहरू उत्साहित बनेका हौँ ।
गिरी परिवारले व्यावसायिक तरकारीखेतीबाट मासिक रु ६० हजारसम्म आम्दानी गर्दै आएका छन् । उनीहरूले आफूहरूले उत्पादन गरेको कृषि उपज सदरमुकाम बेनीमा बिक्री गर्दै आएका छन् ।

प्रकाशित मिति: शनिबार, अशोज २५, २०७१