मङ्लबार, बैशाख २५, २०८१

धादिङमा माछापालक थपिँदै

धादिङ २२ असोज । विगत वर्षको तुलनामा धादिङ जिल्लामा माछापालक कृषकको सङ्ख्या र क्षेत्रफल थपिएको छ । मलेखु र काठमाडौँको बजारलाई लक्षित गरी माछामालक कृषकको सङ्ख्या थपिएको हो । आर्थिक वर्ष २०७०÷०७१ मा २५ जना कृषकले १०३ रोपनी जग्गामा ७० वटा पोखरी बनाएर माछापालन सुरु गरेका छन् । माछापालनमा राजनीतिकर्मी, सहकारीकर्मी, जागिरे, व्यापारी र कृषक नेतासमेतले एकल तथा सामूहिक रूपमा माछापालन गर्न थालेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
एक वर्षअघिसम्म छजनाले ४४ रोपनी जग्गामा १५ वटा पोखरी बनाएर माछापालन सुरु गरेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख थियो । अब प्रत्येक वर्ष १०० रोपनी क्षेत्रफल बढाउँदै जाने कार्य योजना रहेको वरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले जानकारी दिनुभयो ।
पोखरी निर्माण गरेपछि प्रतिरोपनी रु १० हजार नगद अनुदान जिल्ला कृषि विकास कार्यालयले अनुदान दिने, वार्षिक रूपमा आम्दानी लिन सकिने, उपभोक्ताको माग र बजारको पहुँच भएकाले माछापालनमा आकर्षण बढेको कृषि प्रसार अधिकृत दुर्गादत्त पन्थीको भनाइ छ ।
माछापालनमा गाउँ विकास समितिका पूर्व अध्यक्ष योवराज बराल, पूर्व हार्डवयर व्यवसायी ध्रुव विक, सहकारीकर्मी सुजन तामाङ, हेलभेटास नेपालका पूर्व कर्मचारी छो लामा, राष्ट्रिय कृषक समूह महासङ्घका प्रथम उपाध्यक्ष भक्तबहादुर बस्नेत र पूर्व विद्यार्थी नेता बद्री अर्यालसमेत लागेका छन् ।

प्रकाशित मिति: बुधबार, अशोज २२, २०७१