शुक्रबार, बैशाख १४, २०८१

कागतीले भाउ पाएपछि कृषक उत्साहित

पाँचथर, २२ असोज । सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरमा गत वर्षको तुलनामा यस वर्ष कागतीले राम्रो भाउ पाएपछि कृषक उत्साहित भएका छन् ।

यस वर्ष कागतीले झन्डै तेब्बर मूल्य पाएपछि कृषक उत्साहित भएका हुन् । गत वर्ष प्रतिगोटा रु एकले बिक्री गरेका कृषकले यस वर्ष बोटमै रु तीन प्रतिगोटामा बिक्री गर्न थालेका छन् ।
पाँचथर सराङडाँडा–५ की भुवानी पाण्डेले भन्नुभयो, “पोहोर साल नजिकका बजारमा लगेर पनि प्रतिगोटा रु एकका दरले बिक्री गर्न सकिएको थिएन यसपालि घरमै व्यापारीले रु तीनदेखि तीन रुपैयाँ ५० पैसासम्म लगाएर लैजान थालेका छन् ।” उहाँले भन्नुभयो, “पहिलेपहिले गाउँघरमा सडक आइपुगेको थिएन, सडक नहुँदा ४, ५ घण्टा बोकेर सप्तमी रवि बजार लगेर प्रतिगोटा २० पैसा, ३० पैसामा बिक्री गर्दथ्याँै, तर डेढ दुई वर्ष भयो घरमै गाडी आइपुग्छ सडक गाउँघरमै आएपछि व्यापारीहरू पनि घरमै आएर ट्र्याक्टरबाट कागती लोड गरेर लैजाने गर्दछन् ।
पाँचथरको सराङडाँडा, फाक्तेप, चिलिङ्देन, कुरुम्बा, हाङ्गुम, अमरपुर, चोकमागुलगायतका गाविसमा व्यावसायिक रूपमै स्थानीयले कागतीखेती गरेका छन् ।
कागतीखेतीबाट ती गाविसका कृषकले वार्षिक मौसमको समयमा प्रतिघर रु एक लाखदेखि रु सात लाखसम्म आम्दानी गर्ने गरेका छन् । सराङडाँडा–५ का अर्का कृषक खगेन्द्र बस्नेतले भन्नुभयो, “आफ्नो बगानबाट वार्षिक रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्मको कागती बिक्री गरिँदै आइएको थियो, तर यस वर्ष कागती पनि राम्रो फलेको र भाउ पनि राम्रो आएका कारण झन्डै रु पाँच छ लाखसम्म आउने आशामा छु ।”
जोस जाँगर र हिम्मत भए स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ उहाँ, परम्परात खेती गरिँदै आएको धानखेती छोडेर अहिले व्यावसायिक नगदेबाली खेतीतर्फ लाग्नुभएको छ उहाँ । उहाँले अलैँची, अदुवा, अम्लिसो, कागती, सुन्तलालगायतका बिरुवा बगानमा लगाउनुभएको छ ।
कृषकले राम्रो उत्पादन गरुन् भनी दुई वर्षअघि जिल्ला कृषि विकास कार्यालय पाँचथरले कागतीखेती हुने गाविसहरूमा कागतीका बिरुवा वितरण गरेको थियो । यद्यपि बिरुवामात्रै वितरण गरेको तर उचित परामर्श सल्लाह सुझाव भने कार्यालयबाट नपाइएको गुनासो स्थानीयको छ ।
चोकमागुका पूर्ण तुम्वापोले भन्नुभयो, “कार्यालयबाट अहिलेसम्म कागतीखेतीका लागि कुनै चासो गरिएको छैन, हामी व्यावसायिक रूपमा कागतीखेती गर्दै आएका छाँै, तर पँधेरो तथा पात झर्नेजस्ता समस्या देखिएको छ त्यसको समाधानका लागि उचित परामर्श र औषधि उपचार नपाउँदा बोट त्यसै रोगाएर मरेर जान्छ ।”
कृषकले बिरुवा वितरणलाई समेत विस्तार गर्नुपर्ने बताएका छन् । सीमित गाविसमा त्यो पनि दुई वर्षअघि मात्रै वितरण गरेको बिरुवा अहिलेसम्म वितरण गर्न नसकेकामा उनीहरूले कार्यालयप्रति असन्तुष्टि जनाएका छन् ।
उनीहरूले समान रूपमा सबै गाविसमा उत्पादन राम्रो हुने कागतीको बिरुवा वितरण गर्न सुझाव दिएका छन् । पाँचथर फाक्तेपका कवीन्द्र नेम्वाङले भन्नुभयो, “हामीले व्यावसायिक रूपमा कागती लगाएका छाँै, तर नयाँ जातको कागती लगाउने सोचमा छाँै कृषि विकास कार्यालयले यसबारेमा आवश्यक परामर्श दिन्छ भन्ने लागेको छ ।”
जिल्लामा उत्पादन भएको कागती जिल्लाका स्थानीय बजार तथा झापा हुँदै काठमाडौँ र भारत बङ्गलादेशसम्म निर्यात हुने गरेको छ । कागती विशेषगरी अचार बनाउन र झाडापखाला हुँदा अमिलो बनाएर खाने गरिन्छ ।

प्रकाशित मिति: बुधबार, अशोज २२, २०७१