शुक्रबार, बैशाख १४, २०८१

जाजरकोटमा मकैबाली उत्पादन वृद्धि

जाजरकोट, २० असोज । जाजरकोटको उत्तर–पूर्वी क्षेत्रमा मकैबाली उत्पादनमा वृद्धि भएको छ । विगतको वर्षभन्दा यो वर्ष २० प्रतिशतले मकैबाली उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कर्यालयले जनाएको छ ।

जिल्लाका डाँडागाउँ, लहाँ, सक्ला, खगेनकोटलगायतका आधा दर्जन गाविसमा यसपटक मकैबाली उत्पादन वृद्धि भएको किसानले बताएका छन् ।
यस क्षेत्रको मुख्य बालीका रुपमा रहेको मकै उत्पादन वृद्धि भएपछि किसान खुसी भएका छन् । यस क्षेत्रमा अन्न राम्रो उत्पादन भएको साल, वर्षमा छ महिनामात्र खान पुग्ने र अन्य महिना किनेर खाने गरेको खगेनकोटका हरिबहादुर खत्रीले बताउनुभयो ।
भिरालो जमिन, समयमा पानी नपर्दा यस क्षेत्रमा लगाएका अधिकांश बालीहरू उत्पादनमा तलमाथि हुँदै आएको छ । सिँचाइ सुविधा नभएका कारण आकाशेपानीको भरमा यहाँका किसान खेती गर्ने गर्दछन् ।
मौसमअनुसार पानी नपर्दा उत्पादनमा गिरावट आउने यहाँको मुख्य समस्या हो । भिरालो जमिन भएका कारण आकाशबाट पर्ने पानीको ओसिलोपन लामो समयसम्म नरहँदा थप समस्या भएको किसानको भनाइ रहेको छ ।

प्रकाशित मिति: सोमवार, अशोज २०, २०७१