बिहिबार, बैशाख १३, २०८१

महोत्तरीका किसान सिङ्घाराखेतीतर्फ आकर्षित

महोत्तरी, २० असोज । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर र वरिपरिका सयौँ बिघा पानी भरिएको जग्गामा अहिले सिङ्घारा (फल) खेती गरिएको छ ।

पानीमुनि लहरामा फल्ने सिङ्घारा एक प्रकारको गुलियो र सुन्दर फल हो जुन स्वास्थ्यका लागि शीतल र पौष्टिक भएकाले स्थानीयस्तरमा निकै लोकप्रिय रहेको छ ।
जिल्लाको रातु खोलामा आएको बाढीको पर्ती (खाली) बनाएको जलेश्वर र वरिपरिका गहिरो खेत, तलाउ र पोखरीहरूमा यसवर्ष ठूलो मात्रामा सिङ्घाराखेती (काँडेदार गुलाफी रङ्गका सुन्दर र मीठो फल) गरिएको छ ।
कम मिहिनेत र थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने भएकाले जलेश्वर र वरिपरिका धेरै किसान यसपालि धानखेती गर्न नपाउँदा सिङ्घाराखेतीतर्फ आकर्षित भएका छन् ।
वर्षौंदेखि बाँझो रहेको जलाशयहरूमा पनि यस वर्ष लगाइएको सिङ्घाराखेतीमा स्थानीय करिब २०० घरपरिवार लागेका छन् ।
यो सिङ्घारा एक महिनापछि तयारी हुन्छन् भने स्थानीय बजारहरूमा प्रतिकिलो रु ४० देखि रु ६० सम्ममा पाइन्छ ।
तराईवासीले पूजाआजामा प्रसादका रुपमा समेत प्रयोग गर्ने सिङ्घारा बालबालिका, बूढापाका र पेटका रोगीले बढी मन पराउने गर्दछन् ।
स्थानीय बजारदेखि सीमापारिका भारतीय बजारहरूमा लगेर व्यापारीहरूले सिङ्घारा बेचेर प्रतिकिसान रु दुई÷तीन लाखसम्म आम्दानी गर्न सक्ने कुरा जलेश्वरका किसान बताउँछन् ।

प्रकाशित मिति: सोमवार, अशोज २०, २०७१