शुक्रबार, चैत्र १६, २०८०

कृषि उपकरणमा अनुदान पाएपछि बाग्लुङ्गमा बढ्दै छ कृषिमा यान्त्रीकरण

mini_power_tiller_
बागलुङ, २० असोज । परम्परागत खेती प्रणालीलाई वैज्ञानिक र व्यावसायिक बनाउन किसानलाई अनुदान सहयोगमा कृषि उपकरण दिन थालिएको छ ।
गत आर्थिक वर्षमा विभिन्न किसिमका उपकरणमा किसानलाई रु पाँच लाखभन्दा बढी अनुदान दिइएको कृषि कार्यालयले जनाएको छ ।
छ किसिमका उपकरण र अन्य अत्याधुनिक कृषि सामग्री कृषि समूह र व्यावसायिक किसानलाई प्रदान गरिएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताएका छन् । अधिकतम ७५ देखि न्यूनतम २५ प्रतिशत अनुदानमा ती उपकरण प्रदान गरिएको कृषि प्रसार अधिकृत विम्लब अधिकारीले जानकारी दिए ।
सबै उपकरणमा गरी किसानले रु पाँच लाखभन्दा बढी अनुदान पाएका छन् । मागमा आधारित सेवा कार्यक्रमअन्तर्गत ६, एकीकृत बाली तथा जल व्यवस्थापन कार्यक्रमअन्तर्गत एक र सहकारी खेती स्किम कार्यक्रमअन्तर्गत एक गरी आठवटा पावर टिलर प्रदान गरिएको छ । मागमा आधारित सेवा कार्यक्रमअन्तर्गतको पावर टिलरलगायत अन्य उपकरण प्रदान गर्नका लागि जिल्ला कृषि विकास समितिले निर्णय गरेर मात्र दिनुपर्ने व्यवस्था रहेको छ ।
अन्य उपकरणका लागि कृषि सेवा केन्द्रको सिफारिसमा आएका कृषि समूह र व्यावसायिक किसानले अनुदानमा उपकरण पाउने वरिष्ठ कृषि विकास अधिकारी रिजालले बताए । उपकरणबाहेक प्लास्टिक घरका लागि सामग्री, बीउबिजन, प्रविधि, सीप र तालिम पनि किसानलाई प्रदान गर्ने गरिएको छ ।
“व्यावसायिक रूपमा कृषि उत्पादनमा लागेका कृषि समूह र व्यक्तिलाई समेत अनुदानमा कृषि उपकरण प्रदान गरिरहेका छौँ”–रिजालले भने–“बर्सेनि यो कार्यक्रमले निरन्तरता पाउँछ, कृषिको आधुनिकीकरणका लागि उपकरणको प्रयोगले ठूलो टेवा पुग्ने हाम्रो विश्वास छ ।”
जिल्ला कृषि विकास कार्यालयले अनुदान सहयोगमा कृषि उपकरण किसानलाई दिन थालेपछि कृषिमा यान्त्रीकरण बढ्दो छ । उपकरण प्रयोग गर्दा थोरै श्रम र उत्पादन लागतमा बढी मुनाफा कमाउन सकिने हुँदा किसान पनि खुसी छन् ।

प्रकाशित मिति: सोमवार, अशोज २०, २०७१