आइतवार, बैशाख २३, २०८१

पच्चीस लाख रुपैयाँ लिएर निगमका कर्मचारी फरार

सुरुङ्गा (झापा), ८ असोज । कर्मचारी र मजदुरको दसैँ खर्च तथा ज्याला वितरणका लागि निकालिएको रु २५ लाख लिएर झापाको विर्तामोडस्थित नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी फरार भएका छन् । जिल्लाकै शान्तिनगर गाविसस्थित बर्ने चिया कमानका ३२२ जना मजदुरको दसैँ खर्च तथा ज्याला वृद्धि फरक रकम र मजदुरको ज्यालासमेत गरी रु २५ लाख लिई निगमको क्यासियर पदमा कार्यरत ३५ वर्षीय राजपाल सिंह फरार भएको निगमका प्रशासन प्रमुख लोकनाथ दङ्गालले जानकारी दिनुभयो । भारतको राजस्थान घर भएका सिंह नेपाल एसबीआई बैंकको विर्तामोड कार्यालयबाट उक्त रकम निकालेर मङ्गलबारदेखि फरार भएको बताइएको छ ।
दसैँको मुखमा मजदुरी गरी छाक टार्ने मजदुरको ज्याला र दसैँ खर्च रकम लिई आफ्नै कर्मचारी फरार भएको घटनाप्रति निगम व्यवस्थापनले दुःख व्यक्त गरेको छ । निगमका प्रशासन प्रमुख दङ्गालका अनुसार फरार सिंहको तस्बिरसहित आवश्यक हुलिया दिई खोजतलासका लागि प्रहरी प्रशासनसमक्ष अनुरोध गरिएकोे छ । कृषिसाप्ताहिक

प्रकाशित मिति: बुधबार, अशोज ८, २०७१