बिहिबार, बैशाख १३, २०८१

अदुवामा रोग लागेपछि किसान चिन्तित

इलाम, ८ असोज । अदुवामा गानो कुहिने, पात पहेंलिने जस्ता रोग लाग्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । अदुवाको माउ झिकेपछि गानो कुहिएर बोट नै पहेंलो हुने रोग देखिएको छ । महँगोमा बीउ खरिद गरेर अदुवा रोपेका किसान रोगले अदुवाका बोट मर्न थालेपछि लाखौँ रकम डुब्ने पीरले चिन्तित बनेका हुन् । घिल्लो वर्ष अदुवाको मूल्य बढेपछि उत्साहित बनेर खेती बढाएका किसान अहिले रोगका कारण बीउको नै मूल्य नउठ्ने हो की भन्ने चिन्ताले पिरोलिन थालेका छन् । जिल्लाको विभिन्न भेगमा लगाइएको अदुवामा रोग लागेकाले यो वर्ष अदुवा उत्पादन झन्डै २० प्रतिशत घट्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका बाली संरक्षण अधिकृत बुद्धिराम भट्टराईका अनुसार अदुवामा ढुसी र ब्याक्टेरियाजन्य रोगको सङ्क्रमणले उत्पादनमा कमी आउने देखिएको छ । रोग नियन्त्रण गर्न कपरअक्सिक्लोराइड, सार्प र मेलिजमाइसेन औषधिको प्रयोग गर्न भट्टराईले सुझाव दिनुभयो । “रोग नियन्त्रण गर्न प्रयास गरे पनि नसकिएको सुम्वेकका नारदमणि लम्सालले बताउनुभयो । सुरुमा बोट राम्रो भएर आए पनि बर्खा लागेपछि एकाएक अदुवामा रोगको सङ्क्रमण देखापरेको थियो”, लम्सालले भन्नुभयो । ५० हजारमा बीउ किनेर रोपेको त्यही पनि नउठ्ने हो की भन्ने आशङ्का बढेको छ, लम्साल बताउनुहुन्छ । रोगको निदान नहुने हो भने अदुवाखेती मासिएर जाने अवस्थामा पुगेको इलाम नामसालिङका व्यापारी अग्नि घिमिरेले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार अदुवा बिक्रीबाट जिल्लामा वार्षिक साढे तीन अर्ब रूपैयाँ भित्रिने गर्दछ । -कृषिसाप्ताहिक

प्रकाशित मिति: बुधबार, अशोज ८, २०७१